समाज

ग्यास सिलिन्डर बाँड्दै नरैनापुर

बाँकेस्थित नरैनापुर गाउँपालिकाले ग्यास सिलिन्डर र चुल्हो वितरण गर्न सुरु गरेको छ। पालिकामा रहेका साढे नौ हजार घरधुरीलाई सिलिन्डर र चुल्हो वितरण गर्ने योजना गाउँपालिकाको छ।  

सोही योजनाअन्तर्गत गाउँपालिकाले सिलिन्डर र चुल्हो वितरण गर्न सुरु गरेको हो। नौ बुँदे प्रतिबद्धतासहित डिजिटल प्रविधिबाट ग्यास सिलिन्डर र चुल्हो वितरण सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए। ‘एक महिनाभित्र पालिकाका सबै घरधुरीलाई वितरण गरिसक्ने हामीले लक्ष्य राखेका छौं,’ उनले भने, ‘सोहीअनुसार वितरणको कामसमेत सुरु भइसकेको छ।’ वन जंगल फडानी गर्ने कार्य रोकेर वातावरण संरक्षणमा योगदान पुर्याउन तथा आगलागी नियन्त्रण र धुवाँबाट हुने रोगहरु न्यूनीकरण गर्ने उद्देश्यले सबै घरधुरीलाई ग्यास सिलिन्डर र चुल्हो निःशुल्करुपमा वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए।

गाउँपालिकाले प्रत्येक घरधुरीका अगुवासँग घरमा शौचालय निर्माण गरी नियमित प्रयोग गर्ने, उमेर पुगेका बालबालिकालाई नियमित विद्यालय पठाउनुपर्ने, कोभिड– १९ लगायत बालबालिकालाई सबै खोप लगाई पूर्ण खोपयुक्त गाउँपालिका बनाउने प्रतिबद्धतासमेत लिएको दाबी गरेको छ।

त्यस्तै बालविवाह, बालश्रममुक्त परिवारको निर्माण गरी बालमैत्री स्थानीय शासन सञ्चालनमा सहयोग पुर्याउनुपर्ने, लैगिंक तथा घरेलु हिंसा गर्न नपाइने, जातीय तथा धार्मिक छुवाछुत र भेद्भाव गरे कानुनबमोजिम कारबाही सहने छु भन्ने प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गराएर ग्यास सिलिन्डर र चुल्हो वितरण गर्ने गरिन्छ।

गाउँपालिकाले खाना पकाउने प्रयोजनका लागि प्रतिपरिवार ग्यास भरिएको सिलिण्डर एक थान, चुल्हो एक थान, पाइप दुई मिटर, लाइटर एक थान दिइरहेको गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले जानकारी दिए। उनका अनुसार उक्त ग्यास तथा सिलिण्डर गलत रुपमा प्रयोग भएको पाइएमा कारबाही गरिने छ।

गाउँपालिकाले पाँच करोड रकम खर्चेर पालिकाभित्रका नौ हजार पाँच सय घरधुरीलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गर्न सुरु गरेको छ।

प्रकाशित: १९ पुस २०७८ १०:३० सोमबार

ग्यास सिलिन्डर