समाज

कैदी फरार प्रकरण: पक्राउ परेका जेलर छुटे

घोराही कारागारको कैदी फरार प्रकरणमा संलग्न रहेको आशंका पक्राउ परेका कारागारका जेलर युवराज परियार रिहा भएका छन्।

कारागारका कैदी नाइके यमराज परियारलाई भगाउन सहयोग गरेको आशंका प्रहरीले जेलर युवराजलाई नियन्त्रणमा लिएको थियो। कारागारका नयाँ जेलर अमर ओलीकाअनुसार जेलर परियारलाई जमानतमा रिहा गरिएको हो। 

उनीमाथि अनुसन्धान चलिरहेको ओलीले जानकारी दिए। ‘उहाँलाई जिम्मा जमानीमा छोडिएको हो,’ जेलर ओलीले भने ‘उहाँमाथि अनुसन्धान भैरहेको छ।’  उक्त घटनामा संलग्न देखिएका ७ जनालाई दाङ जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको छ।

आफू बिरामी भएको बहाना गर्दै कारागारबाट बाहिर निस्केका कैदी नाइके यमराज गत ८ गते फरार भएका थिए। उनी अहिले पनि फरार छन्।

प्रकाशित: १७ पुस २०७८ ०६:४७ शनिबार