समाज

खोरेत रोगविरुद्ध कपिलवस्तुमा १ लाख ५५ हजार पशुलाई खोप लगाइने

कपिलवस्तुमा पशुहरुमा लाग्ने खोरेत रोगविरुद्ध बृहत खोप अभियान संचालन गरिने भएको छ। भेटेनिरी अस्पताल तथा पशु सेवा विज्ञको कार्यालयले तौलिहवामा राखेको खोरेत रोग उन्मुलन अभियान भयाक्सिनेटर अभिमुखीकरण गोठीमा सो जानकारी गराइएको हो। विज्ञ केन्द्रका प्रमुख डाक्टर उत्तम आचार्यले कपिलवस्तुका १० पालिकामा रहेको १ लाख ५५ हजार पशुहरुलाई खोरेतविरुद्धको भ्याक्सिन लगाइने बताए। अभियान २ महिनासम्म चल्ने र भ्याक्सिन लगाउन ६५ भ्याक्सिनेटर परिचालन गरिने उनले बताए।

पशुहरुको खुर र मुखमा लागेर पशुहरु मर्दा कृषकले क्षति व्यहोर्दै आएका छन्। महामारीकारुपमा रहेको खोरेत रोगको नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न सरकारी योजना अनुसार यो अभियान चलाइएको आचार्यले बताए। ‘यो रोगले पशुहरु मर्दा कृषकहरुले धेरै घाटा व्यहोर्दै आएका छन्, त्यही घाटा कम गरी कृषकहरुलाई फाईदा पुर्‍याउन अभियान चलाएका हौ,’ उनले भने। अभियानका लागि लुम्बिनी प्रदेशको खाद्य प्रविधि तथा भूमि व्यवस्थापन मन्त्रालयबाट पहिलो चरणका लागि ७५ हजार डोज खोप जिल्लालाई प्राप्त भई सकेको आचार्यले बताए।

सो अभियानसंगै बाख्राहरुमा लाग्ने पिपिआर, कखुरामा लाग्ने रानीखेत र पशुहरुमा लाग्ने भ्यागुते र चरचरे रोगविरुद्धको खोप समेत संचालन हुनेछ। पालिकाहरुमा रहेका पशुहरुको संख्याका आधारमा सो रोगविरुद्ध खोप पठाइने छ। पिपिआर १ लाख ९१ हजार डोज, रानीखेत नौ हजार, चरचरे र भ्यागुते रोगविरुद्धका २७ हजार डोज खोप पठाइनेछ। उनले भ्याक्सिनेटरले सवल, सक्षम र प्रभावकारीरुपमा खोप लागनउनु पर्ने बताए।

यस्तै सोही कार्यक्रमका बीच खाद्य तथा भूमि व्यवस्थापन मन्त्रालयको आयोजनामा खोरेत रोग एफडिएम तथ्यांक संकलन र एप कार्यान्वय सम्बन्धी तालिम संचालन गरिएको छ। मन्त्रालयका पशु विकास अधिकृत हुमानाथ पाण्डेयले खोर रोगविरुद्ध लुम्बिनी प्रदेशका १० जिल्लामा अभियान चलाउन ६ लाख ५२ हजार डोज आएको बताए।

उनले खारेत रोग नियन्त्रणका लागि प्रदेश मै बृहद अभियान विगत वर्षदेखि नै संचालन हुँदै आएको बताए। कार्यक्रममा प्राविधिक अनिज श्रेष्ठले एपमा अुनसूची फारम भर्ने तरिकाबारे जानकारी गराएका थिए।

प्रकाशित: १५ पुस २०७८ १२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App