समाज

हिउँ पन्छाउन डोजर प्रयोग

भारी हिमपातका कारण बन्द नाग्म गमगडी सडक खण्ड खुलाउनको लागि डोजर प्रयोग गरिएको छ। विहानैदेखि डोजर लगाएर हिउँ पन्छाउने कार्य सुरु भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए।

सडकमा बाक्लो हिउँ जमेपछि तीन दिनदेखि नाग्म गमगडी सडकमा सवारीसाधन चल्न सकेका छैनन्। हिमपातले सडक बन्द छ। यातायात ठप्प छ। कहिले घाम लाग्ने त कहिले बादल लाग्ने भइरहेको छ। मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले भने,‘घाम लागेपछि मात्र सडक खुलाउने बिषयमा पहल भइरहेको छ।’

नाग्म गमगडी सडकको घुच्ची लेक र भुलभुलेमा बाक्लो हिउँ जमेपछि सडक ठप्प भएको हो। त्यो क्षेत्रमा दुई फिटसम्म हिउँ जमेको छ। नेपालगन्ज सुर्खेतदेखि मुगु जिल्लाको लागि छुटेका सवारीसाधन जुम्लाको गुठिज्युला र कालिकोटको नाग्म बजारमा रोकिएका छन्। प्रमुख जिल्ला अधिकारी महतले भने,‘छिटोभन्दा छिटो सडक खुलाउने प्रयत्न भइराखेको छ। संभवत छिटै सडक खुलेर जीवनयापन सहज बनाउने तयारी भइरहेको छ।’

जुम्लाको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले नाग्म गमगडी सडकको जुम्ला खण्डमा कुनै समस्या नरहेको बताइन्। उनले भनिन्,‘ डोजरले धमाधम काम गरिरहेको छ।  एक दुई दिनभित्र खुल्छ। हिउँ परेको क्षेत्र बेलुकासम्म हिउँ फालिसक्ने खबर आइपुगेको छ।’ जुम्ला क्षेत्रमा खासै हिमपातको कुनै असर परेको छैन। जुम्ला बिमानस्थल सञ्चालनमा आइसकेको छ। अत्यधिक चिसो बढेकोले काम बाहेक बाहिर नहिड्नको लागि सुझाव दिइएको छ।  

यो सडक पक्की नबनेकोले हिउँमा हिउँ जमेर ठप्प हुने गरेको छ। बर्षा याममा हिलोले यात्रा गर्न निकै सास्ती भइराखेको छ। जुम्ला कालिकोट जिल्लाको सिमाना नाग्म बजार देखि ९३ किलोमिटर दुरी रहेको यो सडक स्तरउन्नतीको लागि पटक पटक बजे आएपछि सुधार हुन सकेको छैन।

प्रकाशित: १५ पुस २०७८ १०:४३ बिहीबार

भारी हिमपात