समाज

मिथिला चित्रकलामा दिगो विकास लक्ष्य चित्रण भएको हुलाक टिकट जारी

सरकारले मिथिला चित्रकलामा दिगो विकास लक्ष्य चित्रण भएको हुलाक टिकट जारी गरेको छ।

नेपाल– फिलाटेलिक र हुलाक टिकट व्यवस्थापनको इतिहासमा पहिलो पटक नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिथिला चित्रकलामा दिगो विकास लक्ष्य (एसडीजी)हरु चित्रण भएको १७ वटा हुलाक टिकट जारी गरेको हो।

मन्त्रालयमा आयोजित हुलाक टिकटको प्रथम दिवसीय आवरण टाँचा प्रदान कार्यक्रम २०७८ विशेष समारोहमा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की , सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल र हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेले मिथिलामा एसडीजीहरु र्शीषकका साथै अन्य १४ हुलाक टिकटहरु औपचारिक रुपमा सार्वजनिक गरे।

आज हुलाक टिकटका रुपमा जारी भएको मिथिला चित्रकलामा दिगो विकास लक्ष्यहरुको मूल सिर्जना जनकपुरका स्थानीय महिला कलाकारहरुले विसं २०७१ मा गरेका हुन्, जुन कार्य नेपालस्थित संयुक्त राष्ट्रसङ्घ र जनकपुर महिला विकास केन्द्रबीचको सहकार्यमा भएको थियो।

दिगो विकास लक्ष्यहरु सबैका लागि पहुँचयुक्त र बुझ्न सकिने बनाउनका लागि स्वदेशी कला प्रयोग गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आवासीय संयोजकको कार्यालयले १७ वटा एसडीजी प्रतिकचिन्हरुलाई स्थानीय कलामार्फत स्थानियकरण गर्ने कार्यको थालनी गरेको छ।

मिथिला कलामा १७ वटा एसडीजी प्रतिकचिन्हहरुको सिर्जनापछि ती चित्रकलाहरु न्यूर्योकस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले सन् २०१९ मा आयोजना गरेको एसडीजीहरुका लागि कलाः मिथिला सम्पदा शीर्षकको प्रदर्शनीमा र न्यूर्योकस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित मिथिला महोत्सवमा पनि सहभागी गराइएको थियो।

प्रकाशित: १४ पुस २०७८ १०:५७ बुधबार

दिगो विकास लक्ष्य (एसडिजी)