समाज

कर्णालीमा भारी हिमपात, जनजीवन कष्टकर

कर्णालीमा भारी हिमपात भइरहेको छ। हिमपातका कारण जनजीवन निकै कष्टकर बनेको छ। कर्णालीको मुगु, हुम्ला, जुम्ला, डोल्पा लगायत हिमाली जिल्लामा हिमपात भएको हो। हिमपातसँगै अत्यधिक चिसो बढेको छ। जनजीवन निकै प्रभावित बनेको छ। जुम्लाको उच्च क्षेत्रमा एक फिटसम्म हिउँ परेको छ। सदरमुकाम क्षेत्रमा हाफ फुटसम्म हिउँ परेको छ। हिमपात भइरहेको स्थानीय बताउँछन्।

जुम्लाको खलंगा बजार, सिंजा क्षेत्रका बस्तीहरु पनि हिउँले सेताम्य भएका छन्। कर्णालीमा हिमपातका कारण सडक र हवाई सेवा प्रभावित हुने भएको छ। हिमपात भइरहेकोले पशुवस्तुलाई दानापानी दिन समेत सकस भइरहेको छ।

हुम्लाको सिमकोटसहित माथिल्लो क्षेत्रमा दुई दिनदेखि भारी हिमपात भएको छ। सिमकोट बजार क्षेत्रमा बाक्लो हिउँ जमेपछि स्थानीयलाई आउजाउ गर्न र वस्तु चराउन मुस्किल भएको छ। मुगु, जुम्ला, डोल्पामा मंगलबारदेखि मौसममा बदली भइ हिउँ पर्न सुरु गरेको छ।

जुम्लामा यसअघि डाँडाकाँडामा हिउँ परेपनि तल्लो क्षेत्रमा हिमपात हुन सकेको थिएन। हिउँ परेपछि बालीनाली सप्रने किसान बताउँछन्। हिमपात भएपछि किसान भने उत्साहित भएका छन्। हिमपात स्याउ, जौं, गहुँ उत्पादनमा वृद्धि हुने स्थानीयको भनाइ छ। पर्यटकीय गन्तव्य रारा हिउँले सेताम्य भएपछि घुम्न आएका आन्तरिक पर्यटक उत्साहित भएका छन्। मुगुको मुर्मा, कोटिला, मातितुम, तलितुम, ताल्चा, घटलेख, बाम, मुगु, डोल्फू लगायत बस्तीहरु हिउँले सेताम्य हुँदै गएका छन्।

मुगु र हुम्लाको विमानस्थलमा बाक्लो हिउँ जमेपछि हवाई यातायात  सञ्चालनमा आउन सकेका छैन। जसका कारण यात्रु अलपत्र परेका छन्। गमगढी नाग्मा सडक खण्ड अन्तर्गत घुच्ची सातमोड डाबलगायत क्षेत्रमा बाक्लो हिउँ जमेपछि मालबाहक ट्रक, जीप मोटर साइकल यात्रु बस चल्न मुस्किल भएको छ। सयौँ मालवहाक सवारीसाधन बीचमै रोकिएका छन्।  

हिमपातले नेपालगञ्ज सुर्खेतदेखि मुगुतिर आएका सवारी साधन जुम्ला गोठीज्यूला, कालिकोट नाग्मा, डाब स्थानमा क्षेत्रमा रोकिएको ब्यापारीको भनाइ छ। गमगढी बजार क्षेत्रबाट ग्रामीण बस्तीमा र जिल्ला बाहिर चल्न सानादेखि ठूला सवारीसाधनलाई पनि हिमपातले अवरुद्ध बनाएको छ।

हिमपातले कर्णालीको हवाई सेवा पनि अवरुद्ध बनेको छ। धावन मार्गमा हिउँ जमेपछि हवाई सेवा अवरुद्ध भएको रारा नागरिक हवाइ उडड्यन कार्यालयले जनाएको छ।

हिमपातले किसानलाई राहत

हिमपातले जुम्लाका किसानलाई राहत मिलेको छ। हिउँदे बालीनाली उत्पादन गर्नेयाममा हिमपात हुँदा यहाँका किसानलाई निकै राहत हुने गुठिचौर गाउँपालिका ५ का स्थानीयवासी भैरववहादुर भण्डारीले बताए। जिल्लाका कतिपय ठाउँमा गहुँबाली,जौँ बाली लगायत बालीहरुलाई हिउँ परेपछि किसानलाई सहज भएको कृषि विकास कार्यालयले जुम्लाले जनाएको छ।

प्रकाशित: १४ पुस २०७८ ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App