समाज

सुनसरीबाट अटोमेटिक पेस्तोलसहित २ भारतीय पक्राउ

सुनसरी प्रहरीले अटोमेटिक पेस्तोलसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको अररिया जिल्लाको वासमतिया ६ का ३५ वर्षीय विद्यानन्द राम र वासमतिया २ का ३१ बर्षीय हसिम अन्सारी रहेका छन्। 

उनीहरुलाई हिजो सोमबार कोशी गाउँपालिका १ लौकहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। एसपी सञ्जय सिंह थापाका अनुसार उनीहरुको साथबाट २ नाल पेस्तोल, ४ वटा म्यागजिन र ३ राउण्ड गोलीसमेत बरामद भएको छ। प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेकाहरु अवैध हतियारको कारोबारी देखिएको पनि एसपी थापाले बताए।

प्रहरीका अनुसार बि.आर.५० के ०१४९ नम्बरको मोटरसाइकलमा २ जना हतियार कारोबारी भारतीय नागरिक नेपाल प्रवेश गरेको गोप्य सुचना आएको थियो। उनीहरु भण्टाबारी वा लौकहीको बीच क्षेत्रबाट हतियारसहित खुला सिमानाको फाइदा उठाउदै नेपाल भित्रिएको अनुमान छ।

उनीहरुलाई पछ्याइरहेको प्रहरीले लौकही बजारबाट पक्राउ गर्न सफल भएको सुनसरी प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ को हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको पनि एसपी थापाले बताए।

प्रकाशित: १३ पुस २०७८ १२:५९ मंगलबार

प्रारम्भिक अनुसन्धान