जिल्लालाई राजधानीसंग जोड्ने ‘लाईफलाईन’ चरिकोट–मुडे सडकमा ढिलासुस्ती र लापरवाहीविरुद्ध जनप्रतिनिधि नै सडक संघर्षमा ओलिएका छन्।
६ वर्षदेखि सडक अलपत्र पार्ने ठेकेदार कम्पनी र सडक विभागविरुद्ध घोषित आन्दोलन अन्तर्गत मंगलबार संघर्ष समितिले सरकारी गाडी गुड्न अवरोध गर्ने कार्यक्रममा सडक क्षेत्रका जनप्रतिनिधिले सक्रिय सहभागिता जनाए।
संघर्ष समितिले बुधबार बिहान सरकारी गाडीलाई अवरोध पुर्याएको संयोजक चिरञ्जीवी मास्केले सुनाए। अवरोध पुर्याउने कार्यक्रममा भीमेश्वर नगरपालिका ३ का वडाध्यक्ष हरिशरण शिवाकोटी, ६ का वडाध्यक्ष नविन लामा, वडा सदस्य तेजबहादुर खाती लगायत सहभागी थिए। संघर्ष समितिमा वडाध्यक्ष शिवाकोटी, लामासहित ५ ओटा वडाका अध्यक्षहरु छन्।
मंगलबारको आन्दोलनमा नेकपा एमाले जिल्ला अध्यक्ष एवं तामाकोसी गाउँपालिका अध्यक्ष ईश्वर पोखरेल र कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामी समेत केहीबेर सहभागी भएर एक्यवद्धता जनाएका थिए।
६ वर्षअघि ठेक्का लागेको सडकमा ठेकेदार पक्षको लापरवाही र सडक विभागको बेवास्ताका अलपत्र हुँदै आएको छ। त्यसका विरुद्ध नागरिक स्तरबाट संघर्ष समिति गठन गरेर स्थानीयले आन्दोलन गर्दै आएका छन्। स्थानीयको दबाबपछि काग नगर्ने ठेकेदार कम्पनी शंकर माली निर्माण सेवा र सुनौला खिम्ती निर्माण सेवालाई काम बाट हटाउन भन्दै फाईल उठाएर आयोजनाले विभाग पुर्याएको छ।
ठेक्का तोड्ने तयारी भएपछि ठेकेदार पक्ष त्यसलाई रोक्न केही थान उपकरणसहित साईटमा फर्किएपनि आयोजनाका अधिकारीहरुले यो निर्माण कम्पनीबाट काम हुन नसक्ने भन्दै अविश्वास गर्दै आएका छन्।
संघर्ष समितिका संयोजक मास्केले आफूहरुको आन्दोलन सडक विभागविरुद्ध रहेको बताए। ‘विभाग ठेक्का तोड्ने तयारी गर्दैछ, ठेकेदार पक्ष काममा फर्किएको नाटक गर्दैछ’, उनले भने, ‘ठेक्का तोडेर हुन्छ अथवा यही ठेकेदार मार्फत काम लगाएर हुन्छ, यो सडक निर्माण हुने सुनिश्चित नहुञ्जेल विभागविरुद्धको आन्दोलनबाट पछि हट्दैनौं।'
प्रकाशित: १३ पुस २०७८ १०:२६ मंगलबार