समाज

मञ्चमा नअटेका मुख्य मजदुर

पाँच वर्ष अगाडि पुसको पारिलो घाममा भक्तपुर दरबार क्षेत्रमा घुम्दै गर्दा २०७२ साल वैशाख १२ को भूकम्पले क्षतिग्रस्त पारेका सांस्कृतिक सम्पदाको पुनर्निर्माण कार्य तीव्रताको साथ हुँदै थियो।

भक्तपुर नगरपालिकाले थालनी गरेको यो अभियानमा स्थानीय महिला, युवा मात्र हैन वृद्धवृद्धा समेत जुटेका देखिन्थे। कोही विहान बेलुकाको छाक टार्न मजदुरी गरेको सुनाउँदै सुस्केरा हाल्थे त कोही पुनर्निर्माणको अभियानमा सहभागी हुन पाएकोमा गौरव गर्थे। कोही आफ्नो नियमित कर्म भन्दै काममा लागेका थिए।

यी सबैभन्दा फरक एक वृद्ध भने भूकम्पले भत्काएको वत्सला मन्दिर अगाडि हँसिलो अनुहार लगाउँदै ढुङ्गा कुट्दै थिए। वृद्ध शरीर तर जोशिलो अनुहारका साथ काम गर्दे गरेका उनको अनुहारमा थकान कम खुसी बढ्दा झल्कन्थ्यो। किन अरुभन्दा फरक देखियो त यी वृद्धको अनुहार?

‘म त मन्दिर बनाउन लागेको,’ भक्तपुर सूर्यमढीका ७४ वर्षीय कान्छा रन्जितकारले त्यति बेला हाँस्दै सुनाएका थिए, ‘बाचुन्जेलमा तयार गर्न पाए निक्कै खुसी मिल्थ्यो।’

सतहत्तर वर्षको उमेरमा पनि उनी नृत्य वत्सला मन्दिरको पुनर्निर्माण कार्यमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म निरन्तर खटिएका थिए।  

रन्जितकारको हात बुढ्यौलीले केही कमजोर जस्तो देखिन्थे, तर उनको इरादा भने तिनै ढुङ्गा जस्तै मजबुत थिए। ‘मन्दिर ठडिएको दिन निक्कै खुसी हुनेछु,’ उनले भने, ‘म त्यही दिनको प्रतिक्षामा छु।’  

नभन्दै त्यो दिन आयो। ७९ को हाराहारीमा पुगेका तिनै कान्छाले शनिबार नृत्य वत्सला मन्दिरको भव्य उद्घाटन समारोह मञ्चमा स्थान नपाए पनि पहिलो लहरको कुर्सीमा बसेर मन्दिर नियाल्दै थिए।  ‘मन्दिर देखेर निकै खुसी लागेको छ,’ उनले भने, ‘ओहोहो!, गुलिजक बाँलागु?’( आहा! कति सुन्दर)

उनी खुसी देखिए पनि, मन्दिर बनाउन दिन रात कठोर मिहेनत गरेका वृद्ध त्यहि मन्दिरको उद्घाटन मञ्चमा नअट्नु केही असहज देखिन्थ्यो। मजदुर र श्रमिकको महत्व बुझ्नेको लागि यो पक्कै पनि सामान्य कुरा थिएन।

‘यो मन्दिर मात्र हैन, मजदुर र श्रमिकको मिहेनत पनि हो’, बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले त्यहि मञ्चबाट सुनाउँदै, ‘सम्पदा निर्माण कार्यमा आवद्ध श्रमिकको अनुभव र मूल्यको सम्मान गर्नुपर्छ।’

सम्पदा पुनःनिर्माणसम्बन्धी पुस्तकमा सम्पदा निर्माण कार्यमा आवद्ध श्रमिकको अनुभव र मूल्य अनुदित गरिनुपर्नेमा जोड दिँदै सांसद गोसाइँले निर्माण कार्यमा आवद्ध सम्पूर्ण जनशक्ति धन्यवादका पात्र भएको बताए।

हो, उनी सम्मानका पात्र मात्र हैन, नयाँ पिँढीको लागि संस्कृति जगेर्नाका श्रोत पनि थिए। ७७ वर्षको वृद्ध उमेरमा पनि उनी वत्सला मन्दिरको पुननिर्माण कार्यमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म खटिएका थिए।

मन्दिर बनाउन दिन रात कठोर मिहेनत गरेका वृद्ध त्यही मन्दिरको उद्घाटन मञ्चमा नअट्नु केही असहज देखिन्थ्यो। मजदुर र श्रमिकको महत्व बुझ्नेको लागि यो पक्कै पनि सामान्य कुरा थिएन। 

ढुङ्गाको काम गर्ने मानिसको अभाव हुँदै गएको सहरमा यी वृद्धले आफ्नो घर खर्च मात्र हैन, सांस्कृतिक सम्पदा ठड्याउने काममा पनि जुट्नु परेको थियो। काम गरेबापत उनले पनि अरुजस्तै पारिश्रमिक पाउँछन् तर उनको सोच्ने शैलीले उनलाई अरुभन्दा केही फरक देखाएको छ।

रन्जितकारले ढुङ्गा माटोसँग खेल्न थालेको ६ दशकभन्दा बढी भएको सुनाए। ‘पैसा नभएर स्कुल जान नपाएपछि कलम छाडेर हथौडा समाएको हुँ,’ उनले त्यति बेला भनेका थिए, ‘तर यो अहिलेसम्म छुटेको छैन।’

रन्जितकार लामो समयसम्म विहानदेखि बेलुकासम्म दरबार क्षेत्रमा ढुङ्गामा छिना खियाउँदै गरेका भेटिए। उनका सहकर्मीले जग लगाउँदै मन्दिर उकास्दै गर्थे। उनी  मन्दिरमा लगाइने प्रत्येक ढुङ्गालाई मिल्दो आकार दिने मात्र हैन, आवश्यक बुट्टा समेत काटिदिए।

नगरपालिकाको सम्पदा शाखामा प्रमुख रामगोविन्द श्रेष्ठले कान्छा रन्जितकार ढुङ्गाको काममा निक्कै अनुभवी भएकाले उनलाई साथ लिएको सुनाए।

‘मन्दिर बनाउँदा मनमा खुसी मिल्दो रहेछ,’ सयौं घरमा काम गरिसकेका उनले सुनाएका थिए, ‘ढुङगा उचाल्न गंहुगो भएपनि कामगर्दा मन हल्का भएको छ।’

उनले काम गरेको थुप्रैले तस्बिर खिचिसकेका छन्। तर त्यसप्रति उनलाई खासै लगाव छैन। ‘अब ठडिएको मन्दिरको तस्बिर खिच्नु होला,’ एकै छिनको अन्तर्वार्ता छोट्याउँदै उनले सुनाएका थिए, ‘मलाई चाँडै मन्दिर बनाउनु छ।’

शनिबार उनलाई मन्दिर अगाडि फोटोको लागि आग्रह गर्दा उनले मानेनन्। ‘अब मेरो हैन मन्दिरकै मात्र तस्बिर खिच्नुहोस्,’ उनले भने, ‘त्यहि मलाई पनि देख्नुहुन्छ।’

‘पक्कै पनि औपचारिक कार्यक्रमका लागि बनाइएको मञ्च साँघुरो र सीमित हुन्छ, तर त्यति पनि साँघुरो र सीमित हुनुहुन्न, जहाँ कान्छाजस्ता मिहिनेती कालिगढले स्थान नपाओस्’, कार्यक्रमको साक्षी बन्दै मञ्चमा आँखा डुलाइरहेका एक सहभागीले सुनाए।

प्रकाशित: १२ पुस २०७८ १५:०४ सोमबार

नृत्य वत्सला मन्दिर पुनर्निर्माण कार्य सांस्कृतिक सम्पदा २०७२ साल वैशाख १२ को भूकम्प क्षतिग्रस्त