प्रदेश नं.१ का जिल्लाको माटोमा अम्लीयपन बढी भएर सुधार नहुँदा अन्नबाली उत्पादनमा कमी हुने गरेको छ। वषौंदेखि माटोमा अम्लीयपन भएपनि सुधार नहुँदा अन्नबाली उत्पादन घट्ने गरेको हो।
माटो परीक्षण प्रयोगशाला प्रदेश नं.१ कार्यालय झुम्का सुनसरीले चालु आर्थिक वर्षको साउनदेखि पुस १० गतेसम्म प्रदेश नं. १ का जिल्लाको ३६२ वटा माटोको नमूना लिएर परीक्षण गर्दा अम्लीयपन बढी नै पाइएको हो। यो अवधिमा माटो परीक्षण गर्दा १९४ वटा नमूना अर्थात ८१ प्रतिशत अम्लीयपन भएको पाइएको छ। यस्तै, माटो परीक्षण गर्दा ५७ वटा नमूना अर्थात १६ प्रतिशत क्षारीय भएको पाइएको छ भने ११ वटा नमूना अर्थात तीन प्रतिशत मात्र तटस्थ माटो भएको पाइएको छ।
प्रदेश नं. १ मा आर्थिक वर्ष २०७७÷०७८ मा तीन हजर २२४ वटा माटोको नमूना परीक्षण गर्दा अध्याधिक मात्रमा अम्लीयपन नै बढी छ। जसमा प्रयोगशालाबाटै परीक्षण गरिएको ८३४ वटा नमूनामा ८९ प्रतिशत अम्लीयपन रहेको पाइएको थियो। यस्तै, किट बक्सद्दारा एक हजार ५९८ वटा माटोको नमूना परीक्षण गर्दा ८५ प्रतिशत र घुम्ती प्रयोगशालामार्फत ७९२ वटा माटोको नमूना परीक्षण गर्दा ६९ प्रतिशत अम्लीयपन भएको पाइएको छ।
माटोमा अम्लीयपन घटाउन घरेलु विधिमा सवैभन्दा पहिला त कम्पोष्ट मलको प्रयोग गर्नुपर्ने र त्यसपछि माटो परीक्षणकै आधारमा कृषि चुन प्रयोग गर्न सकिनेछ। माटोको क्षारीयपन सुधार गर्नका लागि जिपसम प्रयोग गर्न सकिन्छ।
माटो परीक्षण प्रयोगशालाका अनुसार माटोमा पाङ्गारिक पदार्थ पनि ३६२ वटा नमूना परीक्षण गर्दा अधिक ५३ वटा, कम १८१ र मध्यम १२८ वटामा भएको पाइएको छ। माटोमा नाइट्रोजन अधिक ७७ वटा, कम १२८ र मध्यम १५७ रहेको पाइएको छ। यस्तै, फोस्फोरस अधिक ६३, कम १५१ र मध्यम ४४ वटा नमूनामा रहेको पाइएको छ। पोटास भने अधिक ६२ वटा, कम ४८ र मध्यम २०२ वटा नमूनामा रहेको पाइएको छ।
नाइट्रोजन कम हुँदा विरुवाको वृद्धि र विकासमा असर गर्ने गर्छ। फोस्फोरस कमी हुँदा विरुवाको जरा वढ्न समस्या हुने गर्छ भने पोटासको कमी हुँदा रोगबिरुद्द लड्ने क्षमतामा कमी हुन्छ। ‘अनुकुल माटो हुँदा स्वाभाविक रुपमा उत्पादन बढ्छ,’ प्रयोगशालाका कर्मचारी सन्तोष कट्टेलले भने। उनका अनुसार माटोलाई स्वस्थ्य राख्न सक्दा उत्पादन स्वतः वढ्नेछ।
प्रकाशित: १२ पुस २०७८ ११:५४ सोमबार