समाज

गाँजा बोट फाँडिन्छ, कोही पक्राउ पर्दैनन्

गत मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाको ठोरी गाउँपालिकाको वडा नम्बर ३ र ४ बाट ८ बिघामा लगाइएको करिब दुई लाख बोट गाँजा फडानी गरेको थियो।

गाउँभरिका घरबारीमा लगाइएका गाँजा नष्ट गरे पनि प्रहरीले यसमा संलग्न एक जनालाई पनि कारबाही गरेन। गत कात्तिक २९ गते पनि पर्सा प्रहरीले ठोरी गाउँपालिकाको वडा नम्बर ३ र ४ मा ११ बिघा जग्गामा लगाइएको २ लाख २० हजार गाँजाका बोट फडानी गर्यो। मानव बस्ती नजिकै लगाइएको गाँजा खेती फडानी गरिएपनि प्रहरीले संलग्न कसैलाई पक्राउ गरेनन्।

गत मंसिर १९ गते इलाका प्रहरी कार्यालय सेढवाको प्रहरी नायव निरीक्षक राजाबाबु यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले पर्साको जिराभवानी गाउँपालिका–३ बाट डेढ बिघामा लगाइएको करिब ११ हजार बोट गाँजा फडानी गर्यो।

गाँजा फडानी गरे पनि प्रहरीले खेती गर्ने किसान पत्ता लगाउन नसकिएको जनाएका छन। कात्तिकदेखि पुस महिनासम्म प्रदेश २ का जिल्लामा लगाइएको सयौं बिघा गाँजा खेती फडानी गरिएको प्रहरीले जनाएको छ। लाखौं बोट गाँजाका नष्ट गरिएका छन्। तर यसमा संलग्न एक जना पनि पक्राउ परेको तथ्यांक प्रहरीसँग छैन।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले स्थानीय तहको असहयोगको कारण गाँजा खेती लगाउने जग्गा धनीको पहिचानमा समस्या भइरहेको बताए। खेती गर्नेको पहिचान नहुँदा कारबाही गर्न सकस भएको उनको भनाइ छ। सप्तरी, सिरहा, धनुषा, महोत्तरी सर्लाही, रौतहट, बारा जिल्लाको अवस्था पनि पर्सा भन्दा फरक छैन। प्रहरीले गाँजाका बोट ढालेर परिणामसहित गाँजा खेती फडानी गरिएको सार्वजनिक गर्दै आएपनि संलग्न पक्राउ परेको कतै पाइदैन।

प्रत्येक वर्ष कात्तिकदेखि प्रहरीले गाँजा फडानी अभियान चलाउँछ। यति बिघामा लगाइएका यति सय/हजार बोट गाँजा फडानी गरिएको जनाउँछन्। तर कसले लगाएको गाँजा खेती नष्ट गरियो भन्ने जानकारी गुपचुप राखिन्छ।

ठूलो परिमाणमा गाँजा खेती फँडानी गरिए पनि यसमा संलग्न व्यक्ति भने एक जना पनि पक्राउ नपर्नुले शंकास्पद ठान्छन्, स्थानीयहरू। गाँजालाई सरकारले लागुऔषधको सूचीमा राखेको छ। प्रतिबन्धित लागुऔषधको सूचीकोे गाँजाको उत्पादन, ओसारपसार तथा व्यापार गर्नु गैरकानूनी ठहरिन्छ। प्रहरीले वर्षैपिच्छे गाँजा फँडानी गर्छन्। तर त्यसमा संलग्न व्यक्ति पक्राउ गर्दैनन्।

गाँजा खेती लगाइरहने र प्रहरीले फँडानी गरिरहने अवस्था बिडम्बनापूर्ण भएको मिर्चैयाका श्याम कुमार साह बताउँछन्। व्यक्तिगत लाभ लिएर गाँजा खेती गर्ने व्यक्तिलाई जोगाउने प्रवृतिमाथि लगाम नलाग्दासम्म चोर पुलीस सदाबहार खेल चलिरहने उनले बताए। सिरहा र सप्तरीको उत्तरवर्ती क्षेत्र गाँजा खेतीका लागि उर्वर मानिन्छ।

व्यावसायिक रूपमै हुने गाँजा खेती पछिल्लो समय दक्षिणवर्ती क्षेत्रमा समेत फैलिँदै गएको प्रहरीको त्रिवर्षीय तथ्यांकले देखाउँछ। सर्लाही र धनुषाको चुरे क्षेत्रमा व्यवसायिक रूपमा गाँजा खेती हुन्छ। त्यहाँ उत्पादित गाँजाको प्रमुख बजार सीमावर्ती भारतीय सहर हो। गाँजा तस्करहरूले कतिपय जिल्लामा प्रहरीको मिलेमतोमा गाँजाको वारिपारि कारोबार गरिरहेका छन भने कतिपय जिल्लामा प्रहरीलाई छलेर खोलाको बाटो तयारी गाँजा पारिको सहर तस्करी गरिरहेका छन्।

प्रकाशित: ७ पुस २०७८ ०२:०१ बुधबार

जिल्ला प्रहरी कार्यालय पर्सा बाट ८ बिघा गाँजा फडानी