समाज

तीव्र रुपमा पग्लिँदै हिमालयका हिमनदी

हिमालय क्षेत्रका हिमनदी (ग्लेसियर) विगत सात सताब्दीको तुलनामा पछिल्ला ४० वर्षमा १० गुणा बढी पग्लेको एक वैज्ञानिक अध्ययनले देखाएको छ। साइन्टिफिक रिपोट्र्स नामक जर्नलमा सोमबार प्रकाशित एक प्रतिवेदनअनुसार हिमपहिरो,बाढी तथा तीव्र गतिमा हिउँ पग्लिँदा नेपाल, भारत र भुटानका बासिन्दालाई खतरा बढेको छ। कृषिमा आधारित लाखौं दक्षिण एसियाली जोखिममा छन्।

अनुसन्धानकर्ताका अनुसार हिमनदी पग्लिँदा प्रवाह हुने अत्यधिक पानीका कारण समुद्रको सतह बढ्ने,तल्लो तटमा डुबानको समस्या पर्ने तथा समुद्र किनारमा रहेका समुदायलाई चुनौती थपिने देखिएको छ। ‘दक्षिण एसिया क्षेत्रले यसअघि कल्पना गरेभन्दा अत्यन्त तीव्र हिसाबमा प्रभावित देखिएको छ,’ अध्ययनका सहलेखक युनिभर्सिटी अफ लिड्सका हिमनदी विज्ञ जोनाथन क्यारिभिकले भने, ‘हिमालयमा देखिएको यो परिवर्तन अन्यन्त छिटो गतिमा देखिएको छ।’

वैज्ञानिकले धेरै पहिलादेखि न्युजिल्यान्ड, ग्रिनल्यान्ड, पाटागोनियालगायत विश्वका अन्य भूभागका ठूला हिमनदीमा हिउँ घट्ने क्रमको अध्ययन गर्दै आएका छन्। तर हिमालय क्षेत्रमा हिउँ घट्ने क्रम अत्यन्त तीव्र रहेको नयाँ अध्ययनले देखाएको छ।

यो परिवर्तन ठ्याक्कै के कारणले भएको हो भन्नेमा अनुसन्धानकर्ताले यकिन गरेका छैनन् तर दक्षिण एसियामा मनसुनमा आएको परिवर्तनले यसो भएको हुन सक्ने अनुमान उनीहरूको छ। खनिज इन्धन बाल्दा हुने हरित गृह ग्यास उत्सर्जनका कारण हिमनदी तथा तालमा हिउँ पग्लने गरेको वैज्ञानिक मान्यता रहेको सन्दर्भमा नयाँ अध्ययनको नतिजा सार्वजनिक भएको छ।

विभिन्न वैज्ञानिक अध्ययनले विश्वको तापमान बढ्नुमा मानवीय कारण रहेको देखाएका छन्। गत अगस्तमा जलवायुसम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी प्यानल (आइपिसिसी) ले सार्वजनिक गरेको एक प्रतिवेदनले सन् १९९० यता हिउँ घट्नुको प्रमुख कारण मानवीय गतिविधि हुन सक्ने जनाएको थियो।

नयाँ अध्ययनका क्रममा दक्षिण एसिया क्षेत्रमा १५ हजार हिमनदीका तस्बिर लिएर समीक्षा गरिएको थियो। परापूर्व कालमा रहेको ग्लेसियल ट्र्याकको तुलना गरेर कति मात्रामा हिउँ पग्लेको हो भनेर अध्ययनमा आकलन गरिएको थियो। हिमनदी पग्लेर बग्दा हिमनदीसँगै ठूला चट्टान तथा गेग्रान जम्मा हुने भएकाले वैज्ञानिकले त्यस प्रकारको ग्लेसियल ट्र्याकको अनुमान गरेका हुन्।

हाल हिउँले ओगटेको क्षेत्रको आधारमा चार सय वर्षदेखि सात सय वर्षअघिको ‘लिट्ल आइस एज’देखि यता कति मात्रामा हिउँ घटेको हो भनेर अनुसन्धानकर्ताले प्रक्षेपण गरेका हुन्। उनीहरूले यो अवधिमा ३९० देखि ५८६ क्युबिक किलोमिटर हिउँ घटेको अनुमान गरेका छन्। यति मात्रामा हिउँ पग्लिँदा समुद्र सतह शून्य दशमलब ९२ मिलिमिटरले बढ्ने वैज्ञानिक आकलन छ।

युनिभर्सिटी अफ युटाहकी प्राध्यापक समर रुपरले हिमालय क्षेत्रमा हिउँको क्षय अत्यन्त चिन्ताजनक रहेको बताएकी छन्। उनले अध्ययनको नतिजाले आगामी दशकमा हिउँ क्षेत्रमा आउन सक्ने परिवर्तन र समुद सतहमा आउने वृद्धिलाई पूर्वानुमान गर्न सहज हुने बताइन्। यसअघिका अध्ययनभन्दा ठूलो मात्रामा ग्लेसियरको अध्ययन भएकाले यो अध्ययन महत्वपूर्ण रहेको दाबी उनको छ।

बाढीबाहेक समुद्र सतहमा हुने वृद्धिले समुद्र तटमा भूक्षय हुने तथा सडक तथा पुलजस्ता भौतिक संरचनामा हानि पुग्न सक्छ। यसैगरी तटीय क्षेत्रमा रहेको पावर प्लान्ट तथा अन्य औद्योगिक संरचना पनि जोखिममा पर्ने देखिन्छ।

सन् २०१४ को एक तथ्यांकले अमेरिकाको ४० प्रतिशत जनसंख्या समुद्रको तटीय क्षेत्रमा रहने देखाएकाले समुद्र सतहको वृद्धिले यो जनसंख्या प्रभावित हुने अमेरिकाको नेसनल ओसियानिक एन्ड एटमसफेरिक एडमिनिस्ट्रेसनले जनाएको छ। ‘समुद्र सतह बढ्नुमा विभिन्न कारण छन् तर विगतझैं आगामी दशकमा उच्च पहाडी क्षेत्रमा रहेका ग्लेसियरको भूमिका सबैभन्दा बढी हुने देखिन्छ,’ डा. कुपर थप्छिन्।

दक्षिण एसियाको हिमालयन क्षेत्रमा देखिएको हिउँको क्षयको परिणाम झन् बढी हुने देखिन्छ। ग्लेसियर पग्लेर निस्कने पानी यो क्षेत्रका नदीमा समाहित हुन्छ र भारतसहित यो क्षेत्रका अन्य देशका कृषियोग्य जमिनमा सिँचाइ हुन्छ। ग्लेसियर लगातार घट्दा पानीको प्रवाहमा असर पर्ने भएकाले सिँचाइ तथा पिउने पानीको आपूर्ति व्यवस्थामा समेत प्रभाव पर्न सक्ने अनुसन्धानकर्ताको तर्क छ।

यसैगरी अत्यधिक हिउँ पहिरोका कारण भिरालो जमिन अस्थिर हुने र यस प्रकारका प्राकृतिक घटना बढ्न सक्ने देखिएको छ। ‘हाम्रो अध्ययनको नतिजाले यस प्रकारको विपद् रोक्ने प्रयासलाई सशक्त पार्नुपर्ने देखाएको छ,’ अध्ययनमा संलग्न डा.क्यारिभिकले भने।

(वाल स्ट्रिट जर्नल)

प्रकाशित: ७ पुस २०७८ ०१:१२ बुधबार

हिमालय क्षेत्रका हिमनदी हिमनदी पग्लिँदा प्रवाह हुने अत्यधिक पानी