समाज

चिसोबाट बच्न चोकचोकमा आगो बालिँदै

फाइल तस्बिर

चिसो बढ्न थालेपछि न्यानोबाट बच्न बाँकेस्थित कोहलपुर नगरपालिकाले नगर क्षेत्रका चोकचोक र सरकारी कार्यालयमा दाउरा वितरण गर्ने भएको छ। सर्वसाधारण र कर्मचारीलाई न्यानो प्रदान गर्न दाउरा वितरण गर्न लागिएको हो।

नगरपालिकाका अनुसार दाउरा वितरण भएपछि चोकचोकमा आगो बालिने छ। यसले सर्वसाधारणलाई चिसोबाट बच्न मद्दत पुग्ने छ। पछिल्लो समय चिसो बढेसँगै सर्वसाधारणलाई दैनिक कामकाज गर्न समस्या हुँदै आएको छ। ‘नागरिक जति चिसो भए पनि काममा निस्किनै पर्‍यो,’ कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले भने, ‘काम निस्केकाबेला चोकचोकमा आगो ताप्न आउन सहज हुन्छ।’ नगरपालिकाको यो निर्णयपछि स्थानीयहरु खुसी भएका छन्।

कोहलपुरमा नगरस्तरीय विपद व्यवस्थापन समितिको बैठक बसेर सम्भावित विपदबाट जोगिने यस्तो कार्य गर्न थालिएको हो। उक्त बैठकमा चिसोको समयमा नगरवासीहरुलाई कसरी सुरक्षित बनाउन सकिन्ने भन्ने विषय बृहत् छलफल भएको थियो। कोहलपुरका सम्पूर्ण वडा, सर्वसाधारणको धेरै भीडभाड हुने क्षेत्रमा आगो बाल्नका लागि दाउरा वितरण गर्ने, चिसोबाट जोगिन सचेतना फैलाउने, चिसोको समयमा सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी परिचालन, नेपाल प्रहरीहरुको सक्रियता बढाउने र खोज तथा उद्धार कार्य गर्ने विषयमा सरोकारवालाबीच छलफल भएको थियो।

कोहलपुर नगरपालिका विपद तथा वातावरण शाखा प्रमुख पुरुषोतम पोखरेलका अनुसार बैठकले चिसोबाट शीतलहरबाट बच्न र बचाउन स्थानीय तहमा सेवा प्रवाह हुने क्षेत्र नगरपालिकासहित ईलाका प्रहरी कार्यालय, ईलाका प्रशासन कार्यालय, बसपार्क निर्वाचन आयोगको सम्पर्क कार्यालय, सडक क्षेत्रमा रहेका प्रहरी बिटहरु, वडा कार्यालय तथा विद्यालयलगायतका क्षेत्रमा आवश्यकता पहिचान गरेर नगरपालिकाको तर्फबाट दाउरा वितरण गर्ने निर्णय भएको छ।

यस्तै नगर क्षेत्रभित्र रहेका अतिजीर्ण घरपरिवार तथा व्यक्ति अपांगता भएका व्यक्तिहरु त्रिपाल वितरण गर्नुका साथै खाद्यान्नसमेत वितरण गरिने प्रमुख पोखरेलको भनाइ छ। दाउरा, त्रिपाल र खाद्यान्न वितरण गर्न तथा आवश्यक व्यवस्थापनका लागि १५ वटै वडामा वडाध्यक्षको नेतृत्वमा वडामा क्रियाशील राजनीतिक दल सम्मेलित संयन्त्र निर्माण गर्ने निर्णय गरिएको उनले बताए।

नगरपालिकाले दाउरा वितरण गर्ने निर्णयले यस क्षेत्रका विपन्नहरु खुसी भएका छन्। ‘नगरपालिकाले दाउरा दिने भएपछि खुसी लागेको छ,’ कोहलपुर–११ का प्रजित खड्काले भने, ‘गत वर्ष दाउरा नहुँदा चिसो गयो। यस वर्ष पहिला जस्तो कठिन नहुने भयो।’ विपन्नलाई दाउरा वितरण गर्दा विचौलियाहरुलाई छिर्न नदिइ सीधै विपन्नको घरसम्म दाउरा पुग्नुपर्ने उनी बताउँछन्।

प्रकाशित: ६ पुस २०७८ १२:१७ मंगलबार