समाज

पुस दोश्रो साता थकाली युवाको राष्ट्रिय भेला

थकाली युवाको राष्ट्रिय भेला पुस दोश्रो साता पोखरामा हुने भएको छ। थकाली सेवा समिति, केन्द्रीय युवा समितिको आयोजनामा पुस ७ देखि ११ गतेसम्म प्रथम थकाली राष्ट्रिय युवा भेला आयोजना गरिएको हो।

थकाली युवाहरुलाई आफ्नो भेषभूषा, संस्कार, संस्कृति र परम्परा जगेर्ना गर्न उत्प्रेरित गर्ने उद्देश्यले थकाली युवाहरुको भेला गर्न लागिएको आयोजक थकाली सेवा समिति, केन्द्रीय युवा समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। भेलाको लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमीक शेरचनले उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले बताए।

‘धर्म, संस्कृति हाम्रो परम्परा, संरक्षण, सम्वद्र्धन युवाहरुको अभिभारा’ भन्ने मूल नाराका साथ हुने भेलामा देशभरका १९ क्षेत्र र विदेशका ३ क्षेत्रगरी २२ क्षेत्रका युवाहरुको सहभागिता रहने थकाली राष्ट्रिय युवा समितिका तदर्थ समिति संयोजक योगेन्द्र शेरचनले जानकारी दिए। भेलाको अवसरमा ‘थकाली युवा, अवसर, चुनौति र सम्भावना’ विषयक बहस हुने भएको छ।

त्यस्तै, उक्त अवसरमा थकाली युवाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण दिइने छ। थकाली समुदायका बीचमा आपसमा सम्पर्क, समन्वय एवम् भाईचारा वृद्धि गर्दै थकाली युवाहरुको आत्मबल बृद्धिसहित व्यक्तित्व र नेतृत्व विकासका लागि प्रशिक्षण दिइन लागेको संयोजक शेरचनले बताए।

‘गाँस, बास र कपासको जोहो गर्न भन्दै हामी थातथलो छाडेर हिमालबाट पहाड र तराई झर्‍यौं, कतिपय युवाहरु विदेशसमेत पलायन भए, जसका कारण हाम्रो भाषा, संस्कृति, परम्परा, भेषभूषा लोपोन्मुख अवस्थामा गयो, त्यसैका जगेर्ना गर्ने उद्देश्यले प्रशिक्षण राखेका हौं,’उनले भने।  

प्रकाशित: ३ पुस २०७८ ०८:३६ शनिबार

थकाली युवाको राष्ट्रिय भेला