स्वास्थ्य क्षेत्रका विचौलिया काम गर्ने ४ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। मोरङ प्रहरीले सरकारी अस्पताल वरिपरी बसेर विचौलिया काम गर्नेलाई पुनः पक्राउ गरेको हो।
विराटनगरस्थित कोसी अस्पतालअगाडिबाट ४ जना विचौलिया बिहीबार पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। विचौलियाको काम गर्दै सरकारी अस्पतालमा बिरामीलाई उपचारका लागि जानबाट बञ्चित गर्नेहरुलाई प्रहरीले पक्राउ गरेर कारबाही थालेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१८ का ४६ वर्षीय विनोद राय, विराटनगर–१२ का ३९ वर्षीय शिवकुमार कामत, विराटनगर–५ का ४५ वर्षीय दीलिप साह र ६० वर्षीय राम सुनुवार रहेका छन्।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको विशेष टोलीले पक्राउ गरी उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने तयारी भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए। सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई झुक्याउँदै निजी अस्पताल र क्लिनिकतिर लगेर महँगोमा उपचार गर्न बाध्य पार्ने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गाउँतिरबाट उपचार गर्न विराटनगर आउने बिरामीलाई सरकारी अस्पतालमा राम्रो सुविधा नभएको र राम्रा चिकित्सक पनि नहुने भन्दै झुक्याएर विचौलियाले निजी स्वास्थ्य संस्थातिर लग्ने गरेको खुलेको छ। बिरामी लगे वापत निजी अस्पताल र क्लिनिकले विचौलियालाई निश्चित रकम कमिसन दिने गरेको पनि पाइएको मोरङ प्रहरीले जनाएको छ।
सरकारी अस्पतालमा जान बञ्चित गर्दै निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य पार्ने विचौलियाविरुद्धको कारबाही तीव्र पारिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए। आफ्नो सम्पर्कमा रहेका निजी स्वास्थ्य संस्थामा पुर्याउने १७ जना विचौलियालाई यसअघि विराटनगरबाट पक्राउ गरिसकिएको छ।
त्यसैगरी विराटनगर–१२ पटुवारी टोलबाट स्कुटर चोरीमा संलग्न भएको आरोपमा १ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर–१२ का २२ वर्षीय गणेशकुमार राम रहेका छन्। मंसिर २९ गते राति सिर्जना पन्तको को २९ प ६६०० नम्बरको स्कुटर गणेशले चोरी गरी लैजाँदै गर्दा पक्राउ परेको र उनलाई चोरी कसुरमा म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
प्रकाशित: २ पुस २०७८ ०७:२८ शुक्रबार