समाज

आगोमा जलेर दुई बालिकासहित तीनको मृत्यु

सर्लाहीमा भएको दुई आगलागीका घटनामा जलेर दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ। सर्लाहीको कबिलासी नगरपालिका –७ सिरसिया गाउँका जोगी महराको पुसको घरमा आगो लाग्दा उनका दुई छोरीहरु ८ वर्षीया लक्ष्मी कुमारी र ५ वर्षीया सुधा कुमारीको मृत्यु भएको हो। अर्की घाइते ३ वर्षीया सोगन्धी कुमारीको स्थानीय अस्पतालमा उपचारपछि घर फर्केकी छिन्।

महराको फुसले छाएको घरमा बुधबार अबेर राति विद्युत् सट भएर आगलागी भएकोे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधव प्रसाद बुढाथोकीले बताए। घरमा परालको ओछ्यानमा सुतिरहेकी बालिका जलेर गम्भीर घाइते बालिकाहरुको स्थानीय अस्पतालमा  उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएकोमा बाटैमा मृत्यु भएको बुढाथोकीले बताए।

घरमा लागेको आगो स्थानीयको सहयोगमा प्रहरीले झन्डै आधा घण्टापछि नियन्त्रणमा लिएको थियो। आगलागीमा परेर महराको घरसहित लत्ताकपडा, भाँडाबर्तन समेत जल्दा झन्डै ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

यसैगरी, सर्लाहीको मलंगवा नगरपालिका ६ खुटौनामा जाडो छल्न बालेको घुर ताप्ने क्रममा जलेर ७० वर्षीय नसिर खाँको मृत्यु भएको छ। घरदेखि ५ सय मिटर टाढा पराल बालेर आगो ताप्ने क्रममा खाँको कपडामा आगो सल्केको थियो। आगोले शरिरको विभिन्न भाग जलेर छटपटाइरहेका खाँको उपचारको क्रममा मलंगवा अस्पतालमा मृत्यु भएको डिएसपी बुढाथोकीले बताए।

प्रकाशित: १ पुस २०७८ १४:२७ बिहीबार

आगलागी