समाज

बाँके र बर्दियामा बाघ गणना सुरु

बर्दिया राष्ट्रिय निकुञ्जमा बुधबारदेखि पाटेबाघको गणना सुरु गरिएको छ। दुवै राष्ट्रिय निकुञ्जलाई एउटै कलस्टरमा राखेर पाटेबाघको गणना गर्न सुरु गरिएको हो।

बाघ गणना कार्यको बुधबार एक कार्यक्रमकाबीच बर्दिया राष्ट्रिय निकुञ्जमा सुरु गरिएको थियो। नेपालमा हरेक चार वर्षमा पाटेबाघको गणना गर्ने गरिन्छ। बाँके बर्दिया कलस्टरको लागि बाघ गणना गर्न एक दर्जन हात्ती, प्राविधिक, कर्मचारीसहित झन्डै तीन सयजना परिचालन गरिएको छ।

हाल बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा पाटेबाघ रहेका छन्। अहिले यो संख्या बढेर एक सय १५ देखि एक सय २५ को संख्यासम्म पुग्ने अनुमान गरिएको छ। बाँके राष्ट्रिय निकुञ्जमा यसअघि पहिलोपटक गरिएको पाटेबाघ गणनामा २१ वटा भेटिएका थिए। अहिले बाँके निकुञ्जमा समेत पाटेबाघको संख्या दोब्बर पुग्ने अनुमान गरिएको छ।

बाँके र बर्दियामा पाटेबाघ गणनाको लागि चारवटा ब्लक बनाइएको छ। अबको तीन महिनाभित्र दुवै निकुञ्जमा पाटेबाघको संख्या यकिन हुने गणनामा खटिएका प्राविधिकहरुले जनाएका छन् । दुवै निकुञ्जमा बाघ गणनामा सात सयवटा ग्रीडमा सात सय २० वटा क्यामेरा राखिनेछ । एउटा ग्रीडमा कम्तिमा १५ देखि २१ दिनसम्म क्यामेरा टर्¥याप राखिनेछ। निकुञ्जमा गणनामा खटिएका कर्मचारीहरुको सुरक्षालाई समेत विशेष ध्यान दिइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।

विगतका भन्दा पाटेबाघको जोखिम बढी भएकोले हात्ती र नेपाली सेनाको संख्या समेत बढाइएको छ।

प्रकाशित: १ पुस २०७८ १०:५८ बिहीबार

बर्दिया राष्ट्रिय निकुञ्ज