समाज

तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

रुपन्देहीको तिलोत्तमा नगरपालिका जिल्लामै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भएको छ। बुधबार प्रतिनिधिसभा सदस्य तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले तिलोत्तमालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरे।

कार्यक्रममा नेता पौडेलले तिलोत्तमाले भौतिक र मानवीय विकासकालाई सन्तुलन मिलाएर अघि बढाएको भन्दै प्रशंसा गरे। बालमैत्री   नगर अभियान कार्यान्वनयमा चुनौती रहेको भन्दै उनले त्यसलाई दिगो बनाउन आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिवद्धता जनाए।  

प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले तिलोत्तमा नगरपालिकाले ५१ वटा सूचकको अभ्यास गरेर नगरलाई बालमैत्री नगर घोषणा गरेको भन्दै अन्य पालिकाहरुले पनि यसको अभ्यास गर्नुपर्ने बताइन्।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सांसद घनश्याम भुसाल, राष्ट्रिय सभाका सांसद गोपाल भट्टराई, प्रदेश सांसदहरु रमा अर्याल, भोजप्रसाद श्रेष्ठ लगायतले अभियानको दीर्घकालिन कार्यान्वयनमा सहयोग गर्ने प्रतिवद्धता जनाए।

नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेय, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्मा, बालमैैैैैैैैैैैैैैैैैैैैैत्री शासनका राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवे, नगरपालिका प्रवक्ता सुरेन्द्र श्री लगायतले बोल्दै भौतिक निर्माणलाई मात्र विकास मान्ने सोचबाट माथि उठेर गरीएको अभियानले समुन्नत समाज निर्माणमा महत्वपूर्ण टेवा पुर्याउने बताए।

कार्यक्रममा बालमैत्री नगर घोषणा भएकोमा प्रदेश सरकार तथा जिल्ला समन्वय समितिको तर्फबाट नगरपालिकालाई प्रशंसा पत्र प्रदान गरिएको थियो। सो अवसरमा बालमैत्री नगर निर्माणमा योगदान गर्ने वडास्तरीय बाल क्लव सञ्जाल, नगर स्तरीय बाल सञ्जाल, वडा कार्यालयहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

तिलोत्तमाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी तीमध्ये ४१ वटा सूचकहरु शतप्रतिशत र १० वटा सूचकहरुमा अधिकतम ९९.८८ प्रतिशतसम्म नतिजा हासिल गरेको हो।

तिलोत्तमालाई  बालमैत्रीयुक्त नगरपालिका बनाउन २०७६ मंसिर २७ गतेदेखि बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गरिएको थियो। १८ वर्षमुनिका झण्डै ४० हजार बालबालिका भएको तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधि आएदेखि नै शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमार्फत् बालबालिका केन्द्रित विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको नगरपालिकाले जनाएको छ।

बालमैत्री अभियान सञ्चालन भएयता तिलोत्तमामा २३१ वटा बाल समूह, १८ वटा वडा र नगर बाल समूह सञ्जाल गठन भएको छ। 

प्रकाशित: २९ मंसिर २०७८ १३:१९ बुधबार

बालमैत्री नगर घोषणा