पूर्वी पहाडी जिल्लामा यातायातको पहुँच विस्तार गर्न निर्माण थालिएका चारवटा पुल निर्माणको काम सुस्त गतिमा रहेको छ। ठेकेदार कम्पनीको लापरबाहीले गर्दा पुल निर्माणको काम सुस्त गतिमा भएको हो।
पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ का अनुसार उदयपुरको चौदण्डी रानीटार र भोजपुरको मइनटार बीचमा पर्ने दुधकोसी खोलामा पुलको काम यही चैत मसान्तभित्रमा सक्ने सम्झौता भएपनि ठेकेदारले सुस्त गतिमा काम गरिरहेको छ। २५ करोड २५ लाख रुपैयाँमा ठेक्का लिएको रसुवा एसएनएस पप्पु जेभीले अहिलेसम्म पुलको १५ प्रतिशत हाराहारी मात्र काम गरेको छ। जसले गर्दा तोकिएको समयमा पुल पूरा नहुने निश्चित भएको पुल योजना पूर्वी सेक्टरको कार्यालय इटहरीले जनाएको छ।
रसुवा एसएनएस पप्पु जेभीले नै ठेक्का पाएको दुधकोसीकै अर्को पुल त झनै सुस्त गतिमा निर्माण अघि बढेको छ। उदयपुरको साउने थापलाङ् र खोटाङ्को बीच उदयपुर(खोटाङ् जोड्ने पुलको काम त १३ प्रतिशत हाराहारी मात्र अघि बढेको छ। २४ करोड ९१ लाख ६५ हजारमा ठेक्का पाएको ठेकेदार कम्पनीलाई पटक पटक चेतावनी दिई सकिएको पुल योजना पूर्वी सेक्टरका इन्जिनियर नितिस झाले बताए।
यसैगरी, धनकुटा र भोजपुर जोड्ने अरु खोला पुलको काममा पनि ठेक्का पाएको कम्पनीले लापरबाही गरेको छ। धनकुटाको मुगा र भोजपुरको घोडेटार जोड्ने पुलको काम ३५ प्रतिशत हाराहारी मात्र अघि बढेको छ। यो पुल लुम्बिनी महाबिर सन्जिबनी जेभीले २२ करोड ५७ लाख २८ हजारमा ठेक्का पाएको हो।
यस्तै, सोलुखुम्बुको दिप्लीघाट सम्म पुग्ने दुधकोसी नदीमा मोटरेवल पुलको काम पनि १५ प्रतिशत मात्र पुगेको छ। १० करोड १८ लाख १९ हजार रुपैयाँमा निर्माण हुन लागेको पुलको ठेक्का महादेव खिम्ती हिराचन जेभीले पाएको हो। पुल निर्माणको काम अपेक्षित गतिमा बढ्न नसकेकाले गर्दा ठेकेदार कम्पनीलाई चेतावनी दिएको र तोकिएको समयभित्र काम पूरा नगरे नियम अनुसार केही थप हुने त्यसम पनि पूरा नभए कालो सूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढ्ने इन्जिनियर झाले नागरिकसँग बताए।
पुल योजना पूर्वी सेक्टरले अहिले पूर्वका जिल्लाका २२ वटा पुल हेर्ने जिम्मा पाएको छ। यी पुलमध्ये अधिकतरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सवै पुल निर्माण सक्नुपर्ने म्याद चैत मसान्त हो। जसले गर्दा पनि अधिकतरको काम पूरा हुने अवस्था छ। तर, केही सीमित पुलको काम भने ज्यादै सुस्त गतिमा रहेको जानकारी दिएको छ।
प्रकाशित: २९ मंसिर २०७८ १०:०९ बुधबार