समाज

डेकेन्द्र हत्या प्रकरणः जन्मकैद फैसलापछि पीडित परिवारमा खुसी

स्वर्गीय पत्रकार डेकेन्द्रराज थापा। फाइल तस्बिरः नागरिक

पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपीहरुलाई हत्याको १७ वर्षपछि सजाय सुनाइएको छ। जिल्ला अदालत दैलेखका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले हत्यामा संलग्नलाई सजाय सुनाएको हो।

मुल्तवीमा रहेको मुद्दाको फैसला सुनाएपछि परिवारजनले न्याय पाउँदा खुसी भएका छन्। दाहसंस्कारपछि पत्रकार थापाकी धर्मपत्नी लक्ष्मी थापाले २०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। त्यसयता ५ जनाले अदालतबाट सजाय काटिसकेका छन्। तर, मुख्य अभियुक्तहरु फरार थिए।

डेकेन्द्र हत्याको १७ वर्षपछि दुल्लू नगरपालिका–६ छिउडीपुसाकोटका ४१ वर्षीय खड्कालाई सजाय भएको हो। आफू लगायत ९ जनाविरुद्ध जाहेरी परेपछि पक्राउ पर्ने डरले लुकीछिपी बस्दै आएका खड्कालाई २ वर्ष अघि कैलाली प्रहरीले पक्राउ गरी दैलेख प्रहरीलाई बुझाएको थियो। प्रहरीले उनलाई दैलेख जिल्ला अदालतमा बुझाएपछि मुल्तवीमा रहेको मुद्दा जगाउँदै २०७६ फागुन २१ गते गरेको थुनछेक बहसपछि त्यही दिन दैलेख कारागार चलान गरेको थियो।

यो फैसलामा ‘अरुण’ भन्ने बमबहादुर खड्काको अलवा कसूरदार साविकको कट्टी गाविस-७ हाल भगवतीमाई गाउँपालिका–६ मुक्ति भन्ने बमबहादुर खड्का, साविकको छिउडीपुसाकोट गाविस–७ हाल दुल्लू नगरपालिका–६ का केशव खड्कालाई जनही २० वर्ष जन्मकैद फैसला सुनाइएको हो। फैसलापछि स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाका भाई यज्ञराज थापाले प्रहरीले पक्राउ पर्न बाँकीहरुका अभियुक्तहरुलाई कानुनी दायरामा ल्याउनका लागि साहास देखाउनुपर्ने बताए। ‘पक्राउ पर्न बाँकी रहेका दुई अभियुक्त प्रहरीकै आसपास छन्,’ यज्ञराज थापाले भने, 'प्रहरीले चासो दिए, अदालतको फैसलाको कार्यान्वय हुनेमा आशावादी छौं।’

मुल्तवीबाट जगाइएको कर्तव्य ज्यान सम्वन्धी मुद्दामा आरोपित बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला भएको छ। अदालतका श्रेस्तेदार कार्कीले डेकेन्द्र थापा हत्या प्रकरणको मुल्तवी लगत कट्टा भएको बताए।

बहसमा कसूरदारलाई सजायको मागदावी गर्दै जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता रुकमेदा पोखरेलले बहस गरेका थिए। प्रतिवादीहरुको बचाउ गर्न वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु शालिकराम सापकोटा, छवि सुवेदी र सर्वराज जोशीले बहस गरेका थिए।

सशस्त्र युद्धको बेला २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी जिउँदै खाल्डोमा पुरेर पत्रकार थापाको हत्या गरेका थिए। दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहेका थापालाई मुहान मर्मतका लागि त्यसतर्फ जान लागेको बेला २०६१ असार १२ गते माओवादी कार्यकर्ताहरुले अपहरण गरेका थिए।

अपहरणको ४५ दिनपछि थापाको हत्या भएको थियो। शान्ति प्रक्रियापछि २०६५ साउन १३ गते नौमुले गाउँपालिका–३ द्वारीमा गाडिएको थापाको शव उत्खनन गरिएपछि न्यायिक प्रक्रिया सुरु भएको थियो। घटनाको ४ वर्षपछि थापाको कंकालको वैज्ञानिक परीक्षणपछि २०६५ साउन १८ गते हिन्दू र धार्मिक परम्परा अनुसार श्रीस्थानमा दाहसंस्कार गरिएको थियो।

पत्रकारहरुको निरन्तर दवावपछि २०६९ पुस २० गते प्रहरीले हत्यामा संलग्न भनिएका ९ जना मध्ये ५ जनालाई निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई पक्राउ गरी मुद्दा चलाएको थियो।

पक्राउ परेकाहरुका सन्दर्भमा २०७१ मंसिर २१ गते तत्कालीन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुई–दुई वर्ष तथा लक्षिराम घर्तीमगरलाई एक वर्ष ६ महिना र बीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको थियो। उनीहरुले कैद भुक्तान गरी सकेका छन्। उक्त फैसलामा जिल्ला न्यायाधीश श्रेष्ठको आरोपित साविकको छिउडीपुसाकोट गाविस–१ हाल दुल्लू नगरपालिका–६ का यी ‘अरुण’ भन्ने बमबहादुर खड्का समेत ४ जना पक्राउ परेको बखत मुद्दा जगाउन सकिने गरी मुल्तवीमा राख्ने फैसला सुनाएका थिए।

प्रकाशित: २८ मंसिर २०७८ १०:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App