समाज

बन्ने भयो भक्तपुरको सात सय वर्ष पुरानो लक्ष्मीनरसिंह मन्दिर

भक्तपुर नगरपालिका वडा नं. ४ गःहिटीमा अवस्थित लक्ष्मी नरसिंह मन्दिर हुने भएको छ। मन्दिरलाई पुरानै मौलिक शैलीमा पुनःनिर्माण गरिने जनाइएको छ। पुनःनिर्माणको लागि सोमबार मन्दिरको शिलान्यास गरिएको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले मन्दिरको एक समारोहबीच शिलान्यास गरे।

इतिहास एवं संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको लक्ष्मीनरसिंह मन्दिर नेपालको एकमात्र शक्तिसहित शान्त स्वभावको लक्ष्मी हुन्। श्रेष्ठले उक्त मन्दिर जयस्थिति मल्लको पालामा बनेको सात सय वर्ष पुरानो रहेको जानकारी गराए।

उपभोक्ता समितिमार्फत मन्दिर पुन:निर्माण गर्न लागिएको भक्तपुर नगरपालिकाले जनाएको छ। लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष शिवराम किजुले मन्दिर पुनःनिर्माणको कुल लागत ३ करोड ७१ लाख २७ हजार पाँंच सय ५१५ रुपैयाँं ३८ पैसा रहेको र दोस्रो चरणको लागत इस्टिमेट ८७ लाख ९३ हजार सात सय आठ रुपैयाँं ४३ पैसा रहेको अवगत गराए।

लक्ष्मी नरसिंह मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका पूर्व अध्यक्ष एवम् सल्लाहकार न्हुछेराम भेलेले मन्दिर पुनःनिर्माणको हालसम्मको आय–व्यय प्रस्तुत गर्दै पहिलो चरणको कार्य सम्पन्न भएपश्चात हाल शिवराम किजुको अध्यक्षतामा लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण उपभोक्ता समिति पुनःगठन भएको जानकारी गराए।

शिलान्यास कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुरका अरु सम्पदा पुनःनिर्माणमा जस्तै लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणमा पनि यहाँका स्थानीय जनताले अपनत्व ग्रहण गर्ने विश्वास व्यक्त गरे।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ सालको भूकम्पबाट क्षति पुगेको १२० वटा सम्पदाहरुमध्ये भक्तपुर नपाले ११८ वटा जीर्णोद्धार र पुनःनिर्माण सम्पन्न गरिसकेको र केही पुनःनिर्माणको क्रममा रहेको जानकारी गराए। प्रमुख प्रजापतिले भक्तपुर नपाले उपभोक्ता समितिमार्फत मौलिक सीप, प्रविधि र जनताको सहयोगमा सम्पदा पुनःनिर्माण र जीर्णोद्धार कार्य सफलतापूर्वक सम्पन्न गर्दै आइरहेको दावी गरे।

भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले एकतल्ले जस्ताको छानाले छाएको उक्त मन्दिर हाल नगरपालिकाले दुईतल्ले छानामा मौलिक स्वरुपमै पुनःनिर्माण गर्ने बताए। मन्दिर पुनःनिर्माणको लागि स्वेच्छाले आर्थिक सहयोग, चन्दा, दान, दातब्य दिन चाहने तथा श्रमदान गर्न संघ संस्था, गुठी, टीम, क्लब तथा सर्वसाधारण जनतालाई सहयोगको लागि आह्वानको लागि सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय समेत गरिसकेको उनले अवगत गराए।

दरबार हेरचाह अड्डा भक्तपुरका कार्यालय प्रमुख अरुणा नकर्मीले जनताको साथ र सहयोगमा निर्माण हुने लक्ष्मीनरसिंह मन्दिरप्रति जनताको अपनत्व हुनुका साथै समयमै सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरिन्।

प्रकाशित: २७ मंसिर २०७८ १२:५२ सोमबार

लक्ष्मीनरसिंह मन्दिर