समाज

अपाङ्ता भएका व्यक्तिलाई सीपमुलक कार्यमा जोड्दै गुठिचौर

अहिले पनि समाजमा अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैनन् भन्ने भ्रम छ। उनीहरुलाई अपमान गर्ने देखि हेयका दृष्टिले हेरिने गरिन्छ। सरकारी सेवा सुविधा सहजै रुपमा उपलब्ध हुदैनन्। आएको सेवा सुविधामा पनि ढिलासुस्ती गर्नाले निकै ठुलो समस्या भोगिरहनु परिरहेको छ। तर जुम्लाको गुठिचौर गाउँपालिकाले भने अपाङ्ता भएका व्यक्तिको सहजताको लागि विभिन्न विकल्प खोजिरहेको छ। उनीहरुलाई स्वरोजगार बनाउन सीपमुलक क्रियाकलापमा संलग्न गराउँदैछ।

अहिले मोजा,स्वीटर,गलबन्दी,टोपील बुन्न सिकाउँदैछ। उनीहरु शारीरिक रुपमा अपाङ्ग भएपनि सपाङ्ग बराबरको काम गर्न सक्छन भन्ने सन्देश दिन गाउँपालिका लागि परेको अध्यक्ष हरीबहादुर भण्डारी बताउँछन्। उनले भने,‘समाजमा सबैले समान हिसावले बस्न पाउनुपर्छ। जसका लागि सबै व्यवसायी बन्न जरुरी छ।’

गाउँपालिका भित्रका ५३ जना अपाङ्ता भएका व्यक्तिलाई एकै थलोमा जम्मा गराएर सीपमुलक कार्यमा जोड्न सफल भएको अध्यक्ष भण्डारी बताउँछन्। यो सीपमुलक कार्यमा सबै वडाका व्यक्ति सहभागि छन्। ३६ जना पुरुष र १७ जना महिला सीपमुलक कार्यमा जोडिएका छन्। वडापालिकाको सिफारीसका आधारमा सहभागि छनौट गरिएको थियो।

नौमुले अपांङ्गता भएका व्याक्तिहरुको संजाल जुम्लाका अध्यक्ष प्रेमराज भण्डारीले स्थानीय सरकारले सीपमुलक कार्यमा जोडेर स्वरोजगारको प्रत्याभुति दिने खालको कार्यक्रम गरेकोमा खुसी व्यक्त गरे। उनले भने, ‘अहिले अपाङ्गता भएका व्यक्ति समाजका सबैभन्दा अपहेलित मानिएका छन्। सबैले हेर्ने नजर समान छैन। यो अवस्थामा सीप सिकाएर जीवन जीउन सिकाउनु निकै राम्रो पक्ष हो। यो स्थानीय सरकारको स्वागतयोग्य कार्य हो।’

समुदाय स्तरमा अपाङगता भएका व्यक्तिहरुलाई गर्ने व्यवहार र हेर्ने नजर निकै निच छ। उनले भने,‘अब समाजका सबैभन्दा अब्बल र पौरखी बन्ने हिम्मत प्राप्त भएको छ। यो सीप उनीहरुको जीवन जीउने एक आधार बन्ने पक्का छ।’ गुठिचौर गाउँपालिका २ गोठ गाउँका मुनप्रसाद ऐडी सीप सिकेर आत्मनिर्भर बन्ने बताउँछन्। उनले भने,‘स्वास्थ्यले साथ दिएको थिएन। त्यसैमा कुनै पनि सीप सिक्ने अवसर मिलेन। अब स्थानीय सरकारले सीपमुलक काममा अग्रसर हुने अवसर प्रदान गरेको छ। निकै खुसी छौँ। सीप सिकेर आफू पालिएर अरुलाई पाल्न सक्ने आँट सिर्जना भएको छ। ’

उनी गाउँमा रोजगारको कुनै अवसर नहुँदा खोडीमुलक गएपछि गाडीले किचेर अपाङ्ग जीवन बिताइरहेका छन्।  काम खोज्दै आधा परानी मरिसकेको छ। बाँकी रहेको परान पाल्न यो सीपले निकै राहत पुर्याउनेछ। गाउँपालिकाकाले दिएको सीपमुलक काममा इमान्दारीताका साथ लाग्ने जयलक्ष्मी भण्डारीले बताइन्। उनले भनिन्,‘ इमान्दारीता र लगनशिल भएर सीप आर्जन गर्न सके यसैमा भविष्य छ। ’उनीहरुलाई गुठिचौर गाउँपालिका ५ की मंगला न्यौपानेले सीप सिकाइरहेकी छिन्। मंगलाले भनिन्,‘सीप सिकेको खण्डमा भोकै मरिदैन। भोको हुने अवस्था नआए जेनतेन गुजारा चल्छ। यही नै उत्तम विकल्प हो। ’

गुठिचौर गाउँपालिकाको आर्थिक सहयोगमा नौमुडे अपाङगता भएका व्यक्तिहरुको सञ्जाल गुठिचौरले सीपमुलक कार्यक्रम आयोजना गरेको हो। अहिले दिनभर अपाङ्गता व्यक्तिहरु सीपमुलक कार्यमै खटिएका हुन्छन्। गाउँपालिका अध्यक्ष भण्डारीले अपाङ्गता भएका व्यक्तिको सहज जीवनयापनका लागि गाउँपालिका चिन्तित रहेको बताए। उनले आगामी दिनमा सीपमुलक काम बाहेकका अन्य विकल्प भएपनि सहजीकरण गर्ने बताए।

प्रकाशित: २४ मंसिर २०७८ ०६:३४ शुक्रबार

अपाङ्ता भएका व्यक्तिलाई सीपमुलक कार्यमा जोड्दै