समाज

१९ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

विराटनगर महानगरपालिका–९ कलेज रोडमा रहेको एउटा गोदाममा लुकाई राखेको लत्ताकपडा बरामद गरेको छ। भारतबाट भन्सार छली अवैध रुपमा ल्याई गोदाममा राखेको लत्ताकपडा बरामद गरेको मोरङ प्रहरीकाप्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार भन्सार छली चोरी पठारी गरी ल्याएर गोदाममा लुकाइ राखेको अवस्थामा प्रहरीले सामान बरामद गरेको हो।

विराटनगर–९ स्थित कलेज रोडमा रहेको विनोद अग्रवालको घरको कोठामा भण्डारण गरी लुकाई राखेको १९ लाख १३ हजार १ सय बराबरको ३५ बोरा विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको प्रहरीले जनाएको छ। कपडा कहाँ लान कसले ल्याएको भन्ने विषयमा अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए।

एक प्रहरी स्रोतका अनुसार विराटनगरका व्यापारी बब्लु अग्रवालको बरामद भएको कपडा रहेको बताए। बब्लुले मामा नाताका विनोदको घरमा तस्करी गरी ल्याइएका कपडा भण्डारण गर्ने गरेका थिए। प्रहरी स्रोतका अनुसार बब्लुले भारतबाट चोर बाटो प्रयोग गरेर क्यारिङ गराएर भण्डारण गर्ने र व्यापारीहरुले भनेको ठाउँमा पुर्याउने जिम्मा लिने गर्दछन्। भेष्ट, साडी र कर्तासुरुवाल बरामद भएको हो।

बरामद गरिएको कपडा आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

यसैगरी, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मोरङको बुढीगंगा गाउँपालिका–६ डल्लेपुलका २६ वर्षीय धनबहादुर तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। तामाङलाई सुनबर्षी नगरपालिका–८ सिक्टी क्षेत्रबाट पक्राउ गरी मोरङ जिल्ला अदालतमा पेश गरी म्याद थपेर मुद्दाको थप अनुसन्धान अघि बढाएको डिएसपी श्रेष्ठले बताए।

गत कात्तिक २८ गते बुढीगंगा–७ मा जिल्ला धनकुटा पाख्रीवास नगरपालिका–४ का २६ वर्षीय रिजन दाहालको हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। दाहाललाई पुरानो रिसिवीका कारण खुकुरी प्रहार गरी घाइते बनाएको र उपचारको क्रममा मृत्यु भएको हुँदा घटनामा संलग्न भई फरार रहेका तामाङ पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए।

प्रकाशित: १९ मंसिर २०७८ १२:४८ आइतबार

लत्ताकपडा बरामद