समाज

लागूऔषधसहित २ जना पक्राउ

विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगरको रानी नाकाको १ नम्बर ढाटबाट धनकुटा र कटहरीका १–१ जना पुरुषलाई लागूऔषध लिएर आउँदै गर्दा पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–१ का ३० वर्षीय सुजित पौडेल रहेका छन्। शुक्रबार २ बजेतिर भारतको जोगबनीबाट आउँदै गरेका उनलाई शंका लागी चेक गर्दा लागूऔषध फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

पौडेलको साथबाट लुपिजेसिक ८ एम्पुल, डाइजाल्याब ८ एम्पुल, एभिल ८ एम्पुल, फेनारगन ८ एम्पुल र डाइलेक्स डिसी १ बोतल लागुऔषध बरामद गरेको एसपी राईले बताए। पक्राउ परेका पौडेललाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

त्यसैगरी, धनकुटा नगरपालिका–१ हिलेका २३ वर्षीय विवेक तामाङ बिहीबार साँझ जोगबनीबाट लागूऔषध लिएर आउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले लुपिजेसिक ९ एम्पुल, डाइजाल्याब ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल लागुऔषध जोगबनीबाट लिएर आउँदै गर्दा पक्राउ गरेको एसपी राईले बताए।

पक्राउ परेको तामाङलाई पनि इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० मंसिर २०७८ १२:२३ शुक्रबार

विराटनगर महानगरपालिका