समाज

कांग्रेसको क्षेत्रीय कार्यसमितिमा महिला नेतृत्व

नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले पहिलो पटक महिलालाई नेतृत्वका रूपमा पाएको छ। जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं ख को क्षेत्रीय सभापतिमा कांग्रेस नेत्री मैया श्रेष्ठ (लावती) फराकिलो मतान्तरले विजय भएसँगै कांग्रेस कार्यकारी जिम्मेवारीमा महिलालाई पुर्‍याउन सफल भएको छ।

क्षेत्रीय कार्यसमिति सभापति पदमा प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामालाई ६४ मतको अन्तरले पराजित गरेर श्रेष्ठ क्षेत्रीय सभापति चुनिएका हुन्। श्रेष्ठले २७४ मत प्राप्त गर्दा लामाले २०९ मत मात्रै प्राप्त गरे।

जिल्लाको मिक्लाजुङ गाउँपालिकाकी श्रेष्ठ विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध हुँदै कांग्रेसको क्रियाशील राजनीतिमा प्रवेश गरेका थिए।

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति सभापतिका उम्मेदवार सुरेन्द्रकुमार दाहाल पक्षबाट श्रेष्ठले क्षेत्रीय कार्यसमितिको नेतृत्वमा उम्मेदवारी दिएका थिए। क्षेत्रीय कार्यसमितिमा श्रेष्ठको पक्षकै अधिकांश उम्मेदवार विजयी भएका छन्।

श्रेष्ठ नेतृत्वको कार्यसमितिको उपसभापति पदमा तेजबहादुर चेम्जोङ र जितबहादुर भण्डारी विजयी भएका छन्। सचिव पदमा भने भरत तुम्बापो र भक्त लावती सर्वसम्मत भएका थिए।

यस्तै दुई जना सहसचिवमा ज्योतिप्रभा भण्डारी र नरेन्द्र शेर्मा विजयी भएका छन्। पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं ख मा वडा सभापति र क्षेत्रीय प्रतिनिधि गरी ५०५ प्रतिनिधि रहेकामा ४९७ ले मतदान प्रक्रियामा भाग लिएका थिए।

प्रदेशसभा क्षेत्र नं क मा भने जिल्ला कार्यसमिति सभापतिका अर्का उम्मेदवार रुपनारायण जबेगु पक्षधर भगीश्वर योङहाङ नेतृत्वको प्यानल विजयी भएको छ।

प्रकाशित: ६ मंसिर २०७८ ०२:५० सोमबार

महिला नेतृत्व कांग्रेसको क्षेत्रीय कार्यसमिति पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं ख जिल्ला कार्यसमिति सभापति