समाज

बैतडीमा जीप दुर्घटनाः मृतकको सङ्ख्या छ पुग्यो

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ।जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म १ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द–४ कलुवाड मोडमा आइतबार राति ८ः३० बजे दुर्घटनामा परेको हो।

जीपमा सवार रहेका सात जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारको लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचारको लैजाँदै गर्दा बाटोमा मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको प्रहरीले जनाएको छ।

घटनास्थलमै मृत्यु हुनेहरुमा सबै  दशरथचन्द–६ कै रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। दशरथचन्द –६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द,३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलमै मृत्यु भएका पाँच जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी र  बाटोमा मृत्यु भएका चालकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

यस्तै दुर्घटनामा परी  दशरथचन्द  ६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन्। चन्दको जिल्लामा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको छ।

सडकबाट ७०० मिटर तल खसेको जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन। तीव्र गतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने अुनमान गरिएको छ। 

प्रकाशित: ६ मंसिर २०७८ ०२:३६ सोमबार

जीप दुर्घटना तीव्र गति सेती सेती प्रादेशिक अस्पतालप्रादेशिक अस्पताल