धैर्य, मेहनत र कर्म नै सफलताको सुत्र हो। मानिसले आफ्नो कर्म र विवेकले जति लगानी गर्छ, त्यही अनुसार प्रतिफल पाउने गर्दछ। आफ्नो काम र परिश्रमलाई विश्वास गर्ने जनक कार्की १२ वर्ष दुबईमा बसेपछि नेपाल फर्किए।
पाल्पाको स्थानीय रेडियोमा काम गर्दागर्दै २०६५ मा उनी दुवइ गएका थिए उनी। नेपालमा रेडियोमा काम गरेको मान्छे उनको उनको बेग्लै परिचय र पहिचान थियो। तर ‘अभावको अगाडि आदर्श टिकेन’, यही यथार्थले बुझेर उनी सुखद भविष्यको खोजीमा दुवई पुगे।
‘मिडियाको कमाइले जीवन धान्न सकेन। लगभग दुई वर्ष काम गरेको पारिश्रमिक पनि पाइएन त्यसकारण सबै नाम र प्रतिष्ठा छाडेर म वैदेशिक रोजगारीमा गएँ।’ उनले त्यो बेलाको बाध्यता सुनाए।
युएइमा उनको बाह्र हिउँद बित्यो। विदेशमा पनि काम सजिलो थिएन। उनले सुरुको चार वर्ष पेट्रोल फिलरको काम गरे। ती दिनहरु सम्झिदै कार्की भन्छन्, ‘म त्यतिबेला मेरो नेपालको पहिचान र मैले गरेको कर्म सम्झिन्थेँ। आँसु र पसिनाका थोपा एकैपटक खस्थे।’
बाह्र वर्ष उता बसेपछि उनलाई आफ्नै देश फर्केर केही गर्नुपर्छ भन्ने लाग्यो। उनको सोचाइमा काम कहिल्यै पनि सानो ठुलो लागेन। त्यसकारण २०७६ सालमा नेपाल फर्केर उनले आफ्नै गाउँमा फेन्सी पसल चलाउन थाले।
काम कहिल्यै पनि सानो ठूलो हुँदैन भन्ने थियो र छ पनि। उनीमा यो चेत बाह्र वर्षको वैदेशिक रोजगारीले आएको थियो।
गाउँमा फेन्सी पसल चलाएकोमा अचेल उनलाई गर्व छ। आफ्नो परिवारको खुसी नै आफ्नो खुसी रहेछ। अहिले म आफ्नै परिवारसँग आफ्नै देशमा बसेर काम गरिरहेको छु। म यसलाई नै आफ्नो सफलता ठान्दछु, उनले भने।
उनी कोही पनि युवाले आफ्नो महत्वपूर्ण समय परदेशमा विताउनु हुँदैन भन्ने मान्यता राख्छन्। मेहनती, कर्मठ र पैरवी हातहरुले आफ्नै देश सजाउनुपर्छ भन्ने उनको धारणा छ।
बाह्र वर्ष उर्जावान् समय। त्यहाँको तातो हावा र आफ्नो आफ्नाहरुको यादमा चिसिएको मुटुको सम्झना आज पनि उनको आँखामा आउँछन्।
उनी नेपाल फर्केको केही समय निकै अन्योलमा थिए। किनभने उताबाट देखेको नेपाल र वास्तविक नेपालमा धेरै अन्तर थियो। राजनीति पनि अस्तव्यस्त थियो। तर राजनीतिलाई मात्रै दोष दिएर जीवन सफल हुन्न भन्ने कुरा उनले बुझे र फेन्सी पसल चलाउन थाले।
विदेशमा गरेको दुःखको लगानी र त्यहाँ जस्तै महेनत नेपालमा गर्नथालेपनि उनलाई विस्तारै सफलता हात पर्न थाल्यो जसको कारणले उनीमा थप उर्जा र हौसला थपियो।
परिश्रम गर्नेले आफ्नै देशमा सुन फलाउन सक्छन्। वैदेशिक रोजगारी त वर्षात्को भेल बाढी जस्तै हो। धैर्य र मेहनत नै सफलताको लागि सबैभन्दा ठूलो शक्ति हो, हँसिलो अनुहार बनाउँदै उनले भने।
अहिले उनी आफ्नै देशमा धेरै सम्भावानाहरु देख्छन्। उनलाई सरकारप्रति त पटक्कै विश्वास छैन। सरकारले युवालाई सपना बाँडेरझुक्याइरहेको छ त्यसको पछि नलाग्न उनी आग्रह गर्छन्।
उनी भन्छन्,आफ्नो लागि आफैँले मेहनत गर्नुपर्छ। सरकारले देखाएको सपनामा कहिल्यै विश्वास लाग्दैन। व्याचर्लस गर्नेलाई लोन दिने, विदेश गएर फर्केकाहरुलाई दस लाख ऋण दिने कुरा भाषण मात्रै।’
नेपालमा काम गर्नका लागि ऋण लिन पनि सोर्सफोर्स चाहिने उनी बताउँछन्। जसले ऋण मिलाइदिन्छ उसलाई पनि केही प्रतिशत दिनुपर्ने अवस्था देखेर दिक्क लाग्छ। पाउन त कतिपयले यो अवसर पनि पाएका छन् तर जुन पाउनुपर्ने वर्ग छ तिनीहरुले अहिलेसम्म पनि लाभ लिन सकेका छैनन्, उनले भने।
नेपालमा कृषि क्षेत्रमा पनि निकै अनुदान छ। तर पाउनुपर्ने किसानले पाउन सकेका छैनन्। अझ कृषकहरुलाई त झन् गाह्रो छ। विचौलियाहरुले दुःख नै नगरी मनग्य आम्दानी लिने गरेकाले किसान र उपभोक्ताबीच सिधै सम्पर्क नहुने भएकाले दुवै पक्ष मारमा परेको उनी बताउँछन्। यसमा हामीले केही पनि गर्न नसक्ने र सरकाले नै यो पक्षमा बढी ध्यान दिनुपर्ने उनको अभिव्यक्ति छ।
किसानले दुःख गर्दा पनि आम्दानी लिने नसेको र विचौलियाले उपभोक्ता किसान दुवै पक्षको शोषण गरेको हुनाले सरकाले दुवै पक्षलाई मध्यजर गर्दै नीति नियम बनाउनुपर्ने उनको भनाइ छ।
उनी भन्छन्, विदेश जाने भनेको त लगानी लिनको लागि मात्र हो। नत्र त हरेक हिसाबले नेपालनै ठीक छ। केही समय विदेशमा कमाइ गरेपछि आफ्नै देश बनाउनुपर्छ। विदेशमा सिकेको ज्ञान नेपालमा प्रयोग गर्नुपर्छ।
लगानी गर्नका लागि आफूसँग धेरैथोरै आर्थिक पनि हुन जरुरी छ। त्यसकराण विदेशमा आर्जनको गरेको आर्थिक सँगै ज्ञान सीपलाई नेपालमै लगानी गर्नुपर्छ। हामी नेपालीहरु चन्चल र भावुक हुन्छौँ त्यसरकाण आफूलाई अलिकति संयमित राख्नुपर्छ, धैर्य गर्न सक्नुपर्छ। देशको राजनीतिक अवस्थाले युवाहरुमा प्रत्यक्ष प्रभाव त पारेको छ। तर देशको राजनीतिालाई मात्र दोष देखाएर सफल हुन सकिदैँन हरेक व्यक्तिमा धैर्यता हुन आवश्यक छ। अर्को कुरा विदेशमा कमाएको पैसा र यहाँको कमाएकौ पैसा बिच कहिल्यै तुलना गर्नु हुँदैन। व्यापारमा एकै पटक लाभ लिन सकिदैन। जसले पर्खन सक्छ उसको विजय निश्चित छ।
प्रकाशित: ४ मंसिर २०७८ १०:३१ शनिबार