समाज

सर्वेक्षण भन्छ: कोरोनाको दोहोरो मारमा बालबालिका

कोभिडको महामारीको दोहोरो मारमा बालबालिका परेको अध्ययनले देखाएको छ। महामारी सुरु भएसँगै बालबालिका भएका परिवारहरूमा कस्तो असर परेको छ भन्ने पत्ता लगाउन युनिसेफले गरेको अध्ययनले बालबालिका दोहोरो मारमा परेको देखिएको हो।

युनिसेफले ‘बालबालिका र परिवारमा परेको असर’ विषयमा सर्वेक्षण गरेको थियो। सर्वेक्षणले आधाभन्दा धेरै उत्तरदाताहरूले आम्दानी र जिविकोपार्जनमा कोभिड महामरीले असर पुर्याएको जनाउँदै त्यसले जिविकोपिार्जनमा समेत ठूलो ह्रास आएको युनिसेफका अधिकारीहरुले उल्लेख गरेका छन्।

कोरोना कहरसँगै लागू भएको बन्दाबन्दीले आम्दानीमा कमी हुँदा त्यसको दोहोरो मारमा बालबालिका परेको जनाउँदै युनिसेफले बालबालिकाको पोषणयुक्त खानाको पहुँच, स्वास्थ्य सुविधा र शिक्षामा नकारात्मक असर पारेको देखिएको जनाएको छ।

युनिसेफले महामारीसँग जुझ्न घरपरिवारले अपनाएको नकारात्मक उपायहरूको परिणामस्वरुप बाल विवाह, बाल श्रम र अन्य प्रकारका बाल शोषणहरूमा समेत वृद्धि भएको देखिएको उल्लेख गरेको छ। ‘महामारीले निम्त्याएको चिन्ता र दबाबले बालबालिका र महिलामाथि हुने हिंसामा वृद्धि भएको छ भने पहिलेको तुलनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू पनि बढेका छन्’, युनिसेफ नेपालका प्रतिनिधि एल्के विस्चले भने, ‘संसार कोभिडको महामारीबाट मुक्त हुँदै गर्दा र जलवायु परिवर्तनले ल्याएका साझा चुनौतिहरूको सामना गर्दैगर्दा, सम्पूर्ण बालबालिकाको लागि असल भविष्यका लागि हामी सबैले हातेमालो गर्दै काम गर्नु आवश्यक छ।’

उनले कोभिड महामारीले जोखिममा रहेका र सिमान्तकृत समुदायका बालबालिकाको जनजीवनमा ठूलो असर पारेको उल्लेख गर्दै बालबालिका र युवाहरूको विचारको सुनुवाई गरी समृद्ध विश्वको परिकल्पना गर्नुपर्नेमा अध्ययनको निचोड देखिएको जानकारी दिए।

प्रकाशित: ४ मंसिर २०७८ ०९:३३ शनिबार

कोभिडको महामारी युनिसेफ