समाज

मुस्ताङमा कस्तूरीलाई सिकारीको पासो

मुस्ताङको जंगलमा फेला परेका मरेका कस्तूरी। तस्बिर सौजन्यः एक्याप

तस्करले पासोमा पारेर वन्यजन्तु कस्तूरी मार्दै बहुमुल्य बिना तस्करी गर्ने गरेको खुलेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्ने मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ को लुप्रा जंगलमा सिकारीको पासोमा परेर मरेको अवस्थामा कस्तूरी फेला परेका छन्। कस्तूरी बाहेक अन्य वन्यजन्तु पनि पासोमा परेर मरेका छन्।  

सिकारीले वन्यजन्तु मारेर तस्करी गर्ने गरेको सूचनाको आधारमा प्रहरी र एक्यापले पाँचदिनसम्म गस्ती गर्दा पाँचवटा कस्तूरी मरेको अवस्थामा फेला पारेको एक्यापले बताएको छ। एक्याप मुस्ताङका संरक्षण अधिृकत ऋषि बरालका अनुसार पासोमा परेर मरेको अवस्थामा पाँचवटा कस्तूरी फेला परेका थिए। ती मध्ये दुईवटा भाले र तीनवटा पोथी कस्तूरी थिए। त्यसबाहेक पासोमा परेको अवस्थामा थप एउटा पोथी कस्तूरी पनि फेला परेको उनले बताए। कस्तूरी बाहेक पासोमा परेर रातो फ्याउरो पनि मरेको अवस्थामा फेला परेको बरालले जानकारी दिए।  

‘कस्तूरी मारेर बिना निकालिएको रहेछ। बिनाकै लागि कस्तूरी मारेको हाम्रो अनुमान हो,’ बरालले भने, ‘वन्यजन्तु पासोमा पारेर मारेर बहुमुल्य अंग तस्करी हुने गरेको सुनेपछि हामीले अनुगमन गरेका थियौ। हामीले सोचे झैं वन्यजन्तुलाई पासोमा परेको अवस्थामा भेट्यौं।’ उनका अनुसार पासो थापिएको ठाउँ कस्तूरीको मुख्य बासस्थान भएको क्षेत्र हो। मरेका भेटिएका कस्तूरी र फ्याउरो आलै अवस्थामा फेला परेको उनले बताए। ‘कस्तूरीको मुख्य बसोबास भएको जंगलमै सिकारीले पासो थापेका रहेछन्,’ उनले भने।  

उनका अनुसार कात्तिकको १५ देखि लुप्रा क्षेत्रमा अनुगमन सुरु गरिएको थियो। त्यसक्रममा १७४ वटा पासो समेत त्यही जंगल क्षेत्रमा फेला परेको बरालले जानकारी दिए। उनका अनुसार लुप्रा सहितका अरु वन क्षेत्रमा पनि गस्ती गरिएको थियो। तर, अरुतिर भने पासो र वन्यजन्तुको क्षतिको अवस्था फेला नपरेको उनले सुनाए। संरक्षित क्षेत्रबाट वन्यजन्तुको तस्करी हुने गरेको अनुमानलाई यो अवस्थाले पुष्टि गरेको पनि उनले बताए।  

‘अब प्रहरीले अनुसन्धान पनि थालेको छ। अहिलेसम्म हामीले संरक्षित क्षेत्रभित्र यस्तो अवस्था होला भन्ने लागेको थिएन। तर, वन्यजन्तु मारेर ती वन्यजन्तुका महत्वपूर्ण अंग निकालेर तस्कर हुने गरेको पुष्टि भएको छ,’ उनले भने। बरालका अनुसार मोटरसाइकलको ब्रेकका तार, डोरी प्रयोग गरेर जंगलमा पासो थापिएको थियो। ‘तारमा अल्झेपछि उम्किन नमिल्ने अवस्था थियो,’ उनले भने, ‘बढी आउजाउ हुने मार्ग पहिचान गरेर धराप थापिएको थियो।’

उनका अनुसार हिमाली जिल्ला मुस्ताङको विभिन्न जंगल क्षेत्रमा कस्तूरी, हिउँ चितुवा, घोरल, चित्तल लगायतका वन्यजन्तु पाइन्छन्। कस्तुरी मार्नेलाई ५ देखि १० लाख रुपैयाँ जरिवाना वा १० देखि १५ वर्षसम्मको कैद वा दुवै सजाय हुने व्यवस्था रहेको बरालले जानकारी दिए।  

प्रकाशित: १ मंसिर २०७८ १०:०९ बुधबार

मुस्ताङ कस्तूरी सिकारीको पासो