समाज

घाँटीमा पासो लगाएर कैदीले गरे आत्महत्या

रौतहटको सदरमुकाम गौर कारागारमा जेल जीवन बिताइरहेका एक कैदीबन्दीले घाँटीमा पासो लगाएर आत्महत्या गरेका छन्।

अपहरण तथा शरीरमा बन्धक एवं जवरजस्ती करणी मुद्दामा २१ वर्ष कैद सजाय तोकिएका रौतहटको देवाही गोनाही नगरपालिका ७ निवासी २६बर्षिय लडाइ साह तेलिले कारागारको शौचालयमा घाँटीमा पासो लगाएर आत्महत्या गरेको गौर कारागारका प्रमुख शम्भु यादवले बताए।

आज दिउँसो कारागारको शौचालयमा कैदीबन्दी साहले घाँटीमा गम्छाको पासो लगाएर झुन्डिएको बखत अर्को कैदीले देखेका थिए।

अचेत अवस्थामा फेला परेका तेलिलाई कारागार प्रशासनको सहयोगमा गौर अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएको करीब दस मिनेटपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे अनुसन्धान भैरहेको छ।मृतकको शव पोस्टमार्टमको लागि गौर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १ मंसिर २०७८ ०९:४३ बुधबार

कैदीबन्दी कारागार