ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले आउँदो मंसिर २९ गतेदेखि पुस ४ गतेसम्म सिरिजंगा महोत्सव आयोजना गर्ने भएको छ। पालिकाले सोही दिन पालिकाको प्रमुख प्रशासकीय भवन समेत उद्घाटन गर्ने भएको छ।
पालिकाले शिलान्यास गरेको १ वर्षको अवधिमै प्रशासकीय भवनको उद्घाटन गर्न लागेको हो। २०७७ साल मंसिर २९ गते सिरिजंगा दिवसकै दिन प्रशासकीय भवनको शिलान्यास गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुुसार मंगलबार बसेको कार्यपालिकाले बैठकले महोत्सव सञ्चालनको मिति तय गरेको हो। बैठकले पालिका उपाध्यक्ष ज्ञानमाया चौहानको संयोजकत्वमा सिरिजंगा महोत्सव मूल समारोह समिति समेत गठन गरेको छ।
समितिमा वडा नं ४ तेल्लोकका वडाध्यक्ष रुपदास भट्टराई, वडा नं २ आम्बेगुदिनका वडाध्यक्ष लालकृष्ण चौहान, वडा नं ३ सिकैचाका वडाध्यक्ष सन्तोषकुमार चाम्लिङ, कार्यपालिका सदस्य बिमला साम्यु र पालिकाका राजश्व तथा प्रशासन शाखा प्रमुख भूपेन्द्र बुढाक्षेत्री सदस्य रहेका छन्।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार महोत्सवमा ताप्लेजुङ भरीका ९ वटै स्थानीय तहको संलग्नता हुने गरी अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ। पालिकाले प्रतियोगिता अवधिभर सबै पालिकाबाट भलिबल प्रतियोगितामा सहभागिता जनाउन आउने खेलाडी टिमको आवास, खाना÷खाजा खर्च सिरिजंगाले व्यहोर्ने भएको छ।
यस्तै अन्य पालिकाबाट खेल प्रतियोगितामा सहभागिता जनाउन आउने पालिकाका खेल टिमका प्रत्येक सदस्यलाई आतेजाते यातायात खर्च बापत जनही एक हजार रुपैयाँ बराबरको रकम उपलब्ध गराइने छ। महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषिजन्य तथा परम्परागत सीप, कला, संस्कृति र रीतिरिवाजको प्रर्वद्धन गर्ने उद्देश्यले प्रर्दशनस्थल राखिने भएको छ।
पुस २ र ३ गते ताप्लेजुङ जिल्लाभरीका प्रत्येक पालिकाबाट माध्यमिक तहका १–१ जना विद्यार्थीको सहभागिता हुने गरी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने छ। सो प्रतियोगितामा सहभागिता जनाउन आउने प्रत्येक पालिकाका १–१ जना विद्यार्थीलाई आवास, खाना÷खाजा खर्च सिरिजंगा गाउँपालिकाले व्यहोर्ने र यातायात खर्च स्वरुप प्रत्येक विद्यार्थीलाइ जनही १ हजार रुपैयाँका दरले रकम समेत उपलब्ध गराइने भएको छ।
महोत्सवकै अवसरमा पालिकाले पुस २ देखि ४ गतेसम्म जेष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ। यस्तै खेलकुद, साहित्य, कला संस्कृति, कृषि लगायत सामाजिक जीवनका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वलाई महोत्सवकै अवसर पारेर सम्मान समेत गरिने भएको छ।
महोत्सवमा स्थानीय स्तरमा रहेका बिभिन्न समुदायको झाँकी प्रर्दशनी सहितका कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए। यी कार्यक्रम क्रियाकलापका लागि पालिकाले अलग–अलग परियोजना प्रस्ताव तयार गरी स्वीकृत बजेट शीर्षकभित्र पर्ने कार्यक्रमको हकमा सोही शीर्षकबाट खर्च व्यहोर्ने र स्वीकृत शीर्षकमा बिनियोजित बजेटले नपुग्ने वा नयाँ शीर्षक परेमा उक्त परियोजनाको आर्थिक प्रस्ताव स्वीकृत गरी समपुरक कोषबाट खर्च लेख्ने निर्णय समेत कार्यपालिकाको बैठकले निर्णय लिएको छ।
पालिकाले महोत्सव लक्षित गरी मंसिर २६ देखि २८ गते सम्म वडास्तरीइ नकाउट भलिबल प्रतियोगिता आयोजना गरी २८ गतेका दिन सोही प्रतियोगिताबाट खेलाडी छनौट गरी सिरिजंगा गाउँपालिकाको टीम चयन गर्ने भएको छ।
प्रकाशित: ३० कार्तिक २०७८ ०९:२० मंगलबार