समाज

मुगुमा आगलागी, २१ घर जलेर नष्ट

मुगु सदरमुकाम गमगढीमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएका छन्। मंगलबार राति साढे १२ बजेतिर स्थानीय ठिन्ले लामाको घरबाट आगलागी सुरु भएको थियो। प्रमुख जिल्ला अधिकारी रोम महतले आगलागीबाट २१ घर जलेर पूर्ण नष्ट हुनुका साथै अर्बौको सम्पत्ती क्षति भएको जानकारी दिए। मुगु सदरमुकाम गमगढीको तल्लो बजारमा भएको आगलागी नियन्त्रणमा लिन चार घण्टा लागेको थियो।  

‘घना बस्तीका कारण आगलागी नियन्त्रण गर्न कठिन भयो,’ प्रजिअ महतले भने, ‘नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा चार घण्टापछि बुधबार विहान आगलागी नियन्त्रणमा लिन सफल भयौं।’

प्रहरीका अनुसार ठिज्ले लामाको पूजा कोठाबाट आगलागी सुरु भएको थियो। ‘पूजा कोठामा बालेको दियोबाट आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ उनले भने, ‘बजार क्षेत्र, जोडिएका घरहरु, पसलमा बिक्रीका लागि राखिएका ग्यास र अन्य सामाग्रीका कारण आगलागी नियन्त्रणमा लिन समय लाग्यो।’

आगलागी नियन्त्रणमा लिन रारा राष्ट्रिय निकुञ्ज र रारा तालमा खटिएका नेपाली सेनाको टोली पनि आइपुगेको थियो।

जोडिएका घरहरु भएकाले स्थानीय प्रशासनले आगलागी फैलन नदिनका लागि एक स्थानीयको घर भत्काएको थियो। ‘२० घर आगलागीबाट र एउटा घर थप क्षति हुन नदिनका लागि हामीले भत्कायौं,’ उनले भने, ‘एक स्थानीयको घर नभत्काएको भए आगलागीबाट थप क्षति हुने अवस्था थियो।’

आगलागीबाट २१ घर जल्नुका साथै अर्बौैको सम्पत्ती क्षति भएपनि मानवीय क्षति भने भएको छैन।

प्रकाशित: ३० कार्तिक २०७८ ०२:४४ मंगलबार

आगलागी