समाज

सर्लाही पुलिसद्वारा छ बिघाको गाँजाखेती नष्ट

सर्लाहीको लालबन्दीमा ठूलो क्षेत्रफलमा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका १४ मा करिब ६ बिघा क्षेत्रफलमा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गरेको हो।

लालबन्दी नगरपालिका १४ को कामिटार, मटरखोला, हात्तीसुँडे, तोरीबारी, मतरदोभान र ब्रह्मस्थानका स्थानीयबासीले अवैध रुपमा गरेको गाँजाखेती प्रहरीले नष्ट गरेको हो। ठूलो क्षेत्रफलमा भारी मात्रामा गाँजाखेती गरिएको सूचना प्रहरीले प्राप्त गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खेतीस्थलमा पुगेर नष्ट गरेको सर्लाही प्रहरीले जनाएको छ।

जिल्लामा अझै पनि अवैध गाँजाखेती भएको अनुमान रहेको छ। जिल्लालाई गाँजाखेतीमुक्त गराउन सर्लाही प्रहरीले कतै गाँजाखेती भएको विषयमा सूचना संकलन गरिरहेको छ।

गत हप्ता एकै दिन सर्लाहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल प्रमुख फेरिएपछि नयाँ आएका सुरक्षा प्रमुखले आक्रामक रुपमा काम गरिरहेको देखिएको छ। सीमा सुरक्षा, तस्करी तथा अन्य आपराधिक गतविधिलाई नियन्त्रण गर्न सर्लाही प्रहरी आक्रामक रुपमा काम गरिरहेको स्थानीयको भनाइ छ।

प्रकाशित: २९ कार्तिक २०७८ १३:५८ सोमबार

गाँजाखेती