समाज

चितवन महोत्सव पुस २५ देखि

कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ। कोभिडको जोखिम कायमै रहेकाले थोरै कक्ष राखेर नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको हो।

विसं २०५३ देखि सुरु भएको महोत्सवको यो १३औँ संस्करण हो। हरेक दुई÷दुई वर्षमा महोत्सव हुँदै आएको थियो। विसं २०७५ पछि गत पुसमा हुनुपर्ने महोत्सव कोभिडका कारण रोकिएको थियो। उद्योग वाणिज्य सङ्घ चितवन आयोजक र भरतपुर महानगरपालिका एवं जिल्ला समन्वय समिति चितवन महोत्सवको प्रबन्धक रहेका छन्।

यसअघि तीनवटै संस्था आयोजक हुने गर्दथे। उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। संयोजक श्रेष्ठका अनुसार यस वर्ष महोत्सवमा ३५० कक्ष रहनेछन्। अघिल्ला महोत्सवमा ५०० भन्दा बढी कक्ष हुने गर्दथे। श्रेष्ठले कोभिडका कारण सुरक्षा सतर्कता अपनाएर महोत्सव गर्नुपर्ने भएकाले कक्ष सङ्ख्या घटाइएको जानकारी दिए।  

महोत्सवमा डोमसहितका आकर्षक कक्षसमेत रहने छन्। महोत्सवमा स्वदेशीसहित भारत, चीन, पाकिस्तान, बङ्गलादेशलगायतका देशका उत्पादनकोसमेत कक्ष रहने श्रेष्ठले जानकारी दिए।महोत्सव अवधिमा दिनहुँजसो विभिन्न विषयमा गोष्ठी हुनेछन्। ती गोष्ठीले चितवनलाई आर्थिक केन्द्र बनाउन सहयोग पु¥याउने सङ्घका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए। 

महोत्सव परिसरमा विभिन्न संस्कृति झल्कने नमूना घरसँगै कृषि, पर्यटन, कलासंस्कृति झल्कने कक्ष रहने उनले बताए। श्रेष्ठका अनुसार महोत्सवमा दुई लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। महोत्सव व्यवस्थित गर्न स्टेरिङ कमिटी बनाएर काम अघि बढाइएको छ।

प्रकाशित: २९ कार्तिक २०७८ ०६:५० सोमबार

चितवन महोत्सव