समाज

मुस्ताङ हिमपहिरोः ज्वालामुखीबाट निस्कने जस्तो मुस्लो निस्कियो

मुस्ताङको कोवाङमा आइतबार खसेको हिमपहिरो। तस्बिर सौजन्यः देवबहादुर विक

हिमालपारिको जिल्ला मुस्ताङमा आइतबार बिहान भीषण हिमपहिरो खसेको छ। हिमपहिरोको त्रासले भागदौडको क्रममा घाइते भएकाहरुले ज्वालामुखि विस्फोट हुँदा निस्कने मुस्लो जस्तो बाहिर देखिएको बताएका छन्। ठूलो आवाजसहित ज्वालामुखी बिष्फोटको आवाज सुनिएको र त्यसलगत्तै कालो मुस्लो देखेपछि भागदौड मच्चिदा आफूहरु घाइते भएको उनीहरुको भनाई छ।  

घाइते मिलन पुनले हिम पहिरो आएको देखेपछि भाग्न खोज्दा आफु घाइते भएको बताइन्। उनले भनिन् ‘कक्षामा पढिरहेका थियौं, हिमपहिरो आयो भन्ने हल्ला चलेपछि हतारहतार बाहिर निस्केर हेर्दा ठूलो आवाजसहित धमिलो मुस्लो झरेको देखेपछि हामि पनि भाग्यौं। कान्ला माथिबाट हाम्फाल्दा खुट्टामा चोट लाग्यो।’  

सोहि घटनामा घाइते भएकी अनु देसारले भनिन्,’ स्कुल माथिबाट पानी मिश्रित पहिरो कराएपछि हाम्फाल्दा घाइते भए। यसैबीच हिमपहिरोमा परेर घाइते भएकाहरुलाई गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले भेटेका छन्। मुस्ताङ भ्रमणमा रहेका बेला घटना भएको थाहा पाएलगत्तै जिल्ला अस्पताल पुगेर घाइतेको अवस्था बारे उनले जानकारी लिएका थिए।  

थासाङ गाउँपालिका–२ को कोवाङमा धौलागिरी हिमश्रृंखला अन्तर्गतको टुकुचे पिक ६९२० मिटर (स्थानीयले मानापाथी हिमाल भनेर बुझ्छन) माथिबाट हिमपहिरो झरेको हो । बिहान ११ बजेर ४० मिनेटमा भीषण हिमपहिरो झरेको स्थानीयले बताएका छन्। आइतबार बिहानैदेखि सानातिना हिमपहिरो खसिरहेको ठाउँमा एकाएक भीषण पहिरो झरेको स्थानीयले बताए।  

स्थानीयका अनुसार हिमपहिरोको त्रासले भागाभाग हुँदा स्थानीय जनआदर्श अमरसिंह माविका विद्यार्थी शिक्षक र गाउँले सहित ११ जना घाईते भएका छन् । घाइते हुनेहरुमा अनु देसार, अनुसा खत्री, संगम बरुवाल, मिलन पुन, अम्रिता रोकाया मगर, सुजिना केसी, बिरेन्द्र लामिछाने, अनुस्का विक, स्नेहा किसान, कोरिसा विक र सुशीला थापा घाइते भएका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

हिमपहिरो खसेको देखेका स्थानीय देवबहादुर बिकले भने, ‘विहानैदेखि सानातिना पहिरो खसेको आवाज सुनिएको थियो। तर पछि त भीषण पहिरो नै झर्‍यो। पहिरो झर्दा गडगडाहट आवाज सुनिएको थियो।’ उनका अनुुसार पहिरोकोले निम्त्याएको हुरीका कारण कोवाङ क्षेत्र नै अन्धकार बनेको थियो। ‘हिउँका डल्ला, चट्टान सुहित माटोको हुरी निस्कँदा अत्यासलाग्दो अवस्था आइपर्‍यो,’ उनले भने, ‘केहीबेर त अन्धकार नै भयो। बिहानैदेखि चिसो हावा पनि चलेको थियो । हामीले त बिहान ९ बजे नै भीषण पहिरो झर्ने अनुमान गरेका थिए, तर केही ढिलागरि खस्यो।’ पहिरोले ल्याएको ढुंगामाटो र हिउँले गर्दा कोवाङ क्षेत्र हिलाम्य बनेको थियो।

थासाङ–२ का अध्यक्ष नरप्रसाद हिराचनका अनुसार कोवाङ बस्ती र हिमपहिरो झरेको ठाउँको बीचमा जंगल छ । त्यो जंगल चौरीको चरन क्षेत्र हो। हिमपहिरोको हुरीले जंगलमा रुख लडाएको छ भने गाउँका एकजनाको घरको छाना पनि उडाएको छ। पहिरोले पुरेको ठाउँ चौरीको चरन क्षेत्र हो। त्यही चरन क्षेत्रमा रहेका गोठका गौरी र केही गोठाला प्रभावित भएको अनुमान रहेको उनले बताए।  

उनका अनुसार स्थानीय भीमप्रसाद थकाली, सकेन्द्र गौचन, श्याम पुन, राजेन्द्र तुलाचन र रमेश मगरका चौरी गोठ जंगलमा थिए। ती गोठमा ४०–५० वटाको दरले चौरी रहेको अनुमान छ। सबैगरि करिब दुईसय हाराहारीमा चौरी प्रभावित भएको अनुमान रहेको उनले बताए।  

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार हिउँपहिरोबाट मानवीय क्षति भने भएको छैन। तर, चौरीको चरनक्षेत्रमा भने नोक्सान पुगेको छ। उनका अनुसार स्थानीयबासीको चरन क्षेत्र भएकोले जनावरलाई भने असर परेको छ। हिमपहिरो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। हिमपहिरोले मानवीय त्रास बढेको छ। अहिलेसम्मकै ठूलो हिमपहिरो भएको उनले बताए।  

भूगर्भबिद् भने हिमाली जिल्लामा जलवायु परिवर्तनको असर स्पष्ट देखिन थालेको बताउँछन्। ‘यो हिमपहिरो निम्तनुमा जलवायु परिवर्नतको असर प्रस्ट देखिन्छ,’ भूगर्वबिद श्रीकमद द्विवेदी भन्छन, ‘विश्व तापमान बढ्दै जाँदा माथिल्लो क्षेत्रमा हिउँ पग्लने क्रम बढेको छ। हाम्रो हिमालय क्षेत्रमा यसको जोखिम दिनहुँ बढिरहेको छ।’ उनका अनुसार पछिल्लो समय हिउँ पग्लने कामले गति लिएको छ। ‘हामी यस्ता जोखिमबाट निकै नै नजिक छौ। हिमाली क्षेत्रमा हुने यस्ता क्षति कम गर्न भिन्दै निकाय चाहिन्छ। अब हिमाली क्षेत्रका माथिल्लो भेगका बस्ती जोगाउनुपर्ने चुनौती त छ,’ उनले भने, ‘हिमाली भेगमा चुनौति पहिले पनि थिए, तर, जलवायु परिवर्तनले गर्दा वर्षेनी यस्ता समस्या बढिरहेका छन्। हामीले भर्खर बुझ्न थालेको जोखिम हो।’

प्रकाशित: २८ कार्तिक २०७८ ११:०३ आइतबार

मुस्ताङ हिमपहिरो