समाज

भत्ताबाट वञ्चित नेटुवा जाति

शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा रहेको नेटुवा बस्ती। तस्बिरः किरणमान/नागरिक

आफू सरहकै पत्थरकट्टा जातिका व्यक्तिहरुले मासिकरुपमा सामाजिक सुरक्षा भत्ता पाउँदै आए पनि नेटुवा जाति भने अहिले सम्म भत्ताबाट वञ्चित हुँदै आएकाे भन्दै दुःखेसो पोखका छन्। उनीहरुलाई राज्यले अल्पसंख्यक जातिका रुपमा सूचीकृत नगरेपछि भत्ताबाट वञ्चित हुँदै आएका हुन्।

जिल्लाका नेटुवा जातिले आफूहरुलाई अल्पसंख्यक जातिको सूचीमा राख्न माग गरेका छन्। तीन दशकदेखि सरकारसंग माग राख्दै आए पनि अहिले सम्म आफूहरुको कसैले सुनुवाई नगरेको उनीहरुको गुनासो छ। शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरका महेन्द्र नेटुवाले पटक पटक काठमाडौ धाए पनि कसैले चासो नदिएको बताए। ‘लोपोन्मुख जातिको सूचीमा राख्न माग गर्न थालेको तीन दशक बित्यो तर राज्यले अझै सुनेको छैन,’ उनले भने।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ प्रगतिनगरमा १४ घरमा २ सय बढी नेटुवाको बसोबास छ। सुकुम्बासी बस्तीमा बसेका उनीहरुको नेपाली नागरिकताको प्रमाणपत्र बाहेक केही छैन। रातदिन उनीहरुलाई गाँस, बास, कपासकै पिरलो छ। आफूहरु भन्दा माथिल्लो जातका रुपमा रहेको पत्थरकट्टाहरुलाई सूचीकृतमा राखेर राज्यले सुविधा दिए पनि आफूहरु अझैसम्म अल्पसंख्यक जातिका रुपमा पर्न नसकेको गुनासो गरे।

थर नेटुवा भएको नागरिकता बनाए पनि आफूहरु पत्थरकट्टाभन्दा तल्लो जाति भएको उनले बताए। ‘हामी भन्दा पत्थरकट्टा उपल्लो जाति हो,' उनले भने, ‘हामीले छोएको पानी पनि खाँदैनन् पत्थरकट्टाहरु।’ पत्थरकट्टालाई राज्यले लोपोन्मुखको सूचीमा राखेर सरकारी सेवासुविधा दिएको छ तर हामीलाई दिएन,’ उनले भने, ‘सरकारी सुविधा माग्न जाँदा किन दिँदैनन्?’ वर्षोदेखि आफूहरुले नेताहरुलाई भोट दिएर जिताउँदै आए पनि जितेपछि मुख समेत देखाउन नआएको मनोज नेटुवाले गुनासो गरे। ‘हामी दलित जाति भन्दा पनि तल्लो जाति हौ, जातिय संख्यामा पनि निकै कम छौँ तर हाम्रो कुनै सुनुवाई हुँदैन,’ उनले भने।

शिक्षा, स्वास्थ्य र रोजागरीबाट समते बंचित हुँदै आएका उनीहरुको दैनिकी निकै कष्टकर छ। दिनभरी भिक्षा मागेर जीविकोपार्जन गर्ने उनीहरुको दैनिक बनेको छ। पुरुषले सर्प नचाएरै भिक्षा माग्ने गरेका छन् भने महिला तथा बालबालिकाहरुले भिक्षा मागेर ज्यान पाल्दै आएका छन्। नेटुवा बसोबासका बरपर ठूला ठूला पक्की घर छन्, अगाडि हुलाकी मार्ग छ, नजिकै विद्यालय छ तर उनीहरुको जीवन अन्धकारमा व्यतित छ।

स्थानीय महेन्द्र नेटुवाले प्रजिअ मार्फत मन्त्रालयमा धेरै पटक ज्ञापन पत्र समेत बुझाउँदा कुनै उपलब्धि नभएको बताए। ‘हाम्रो समस्यको बारेमा कसैले पनि चासो राख्दैनन्, हामी पनि यो देशको नागरिक हाैं तर नागरिकता बाहेक केही छैन,’ उनले भने। नेपाली नागरिक भए पनि आफूहरुलाई भारतीय भनेर पनि विभेद गर्ने गरिएको उनको दुःखेसो छ।

अल्पसंख्यक जातिका सूचीकृत पत्थरकट्टा जातिका प्रत्येक व्यक्तिले मासिक ४ हजार सामाजिक सुरक्षा भत्ता बुझने गर्छन्। सर्प मारेर खाने जातिका रुपमा समेत नेटुवा जाति परिचित छन्। शिक्षा, स्वास्थ्य, रोजगारबाट समेत वञ्चित भएका उनीहरुको दैनिकी कष्टकर छ। दिनभरि भिक्षा मागेर खाने दैनिकी बनेको छ। उनीहरुले सर्प नचाएर पाएको पैसा तथा अन्नले गुजारा चलाउँदै आएका छन्।

विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार कपिलवस्तुमा २ सय ९१ को हाराहारीमा नेटुवा जातिको बसोबास रहेको छ। कपिलबस्तुमा २०७८ मा गरीएको घरधुरी सर्भेक्षण अनुसार ८२ घर धुरीमा ५ सय ४ जना रहेको छन्। शुद्धोधन गाउँका पालिकोको प्रगतिनगर, मायादेबी गाउँपालिको अभिराव, शुद्धोधन गाउँपालिकाको बसन्तपुर लगायतका स्थानमा नेटुवा जाति बस्ने गर्छन्।

प्रकाशित: २७ कार्तिक २०७८ १२:३० शनिबार

नेटुवा जाति सामाजिक सुरक्षा भत्ता