समाज

सद्भाव खल्बलिएपछि जनकपुरधाममा निषेधाज्ञा

जनकपुरधाम उपमहानगर वडा नं. २० देवपुरा रुपैठामा सद्भाव खल्बलिन थालेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार २ बजेदेखि निषेधाज्ञा जारी गरेको छ। छठ पर्वकै दिनदेखि रुपैठामा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेको थियो।  

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले नागरिकसँग भने, ‘सामाजिक सद्भाव खलल पुग्ने गरी नारा जुलुस र हुलहुज्जतका घटना नियन्त्रण गर्न निषेधाज्ञा लगाइएको छ।’

जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर–२० देवपुरा रुपैठाको चार किल्ला पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर–जटही मार्ग, उत्तरमा हनुमाननगर, रामपुर र बहुअर्वा जाने बाटो तथा दक्षिणमा देवपुरा निम चोकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा लागू गरेको छ।

शनिबार अपरान्हदेखि लगाइएको निषेधाज्ञा आइतबार राति १० बजेसम्म लागू रहने प्रजिअ बास्तोलाले जानकारी दिए। निषेधाज्ञा उल्लंघन गर्ने जोकोहीलाई प्रहरीले कार्बाही गर्ने चेतावनी दिइएको छ।

यसैबीच केही घन्टाअघि हिन्दूबादी संघसंस्थाले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच मुठभेद भएको छ। मुठभेद हुँदा प्रहरीका ५ र प्रदर्शनकारीका १ जना घाइते भएको प्रजिअ बास्तोलाले बताए।

यो घटना चार वर्षअघि नै बल्झिदै आएको थियो। योपटक भने हिन्दू र मुश्लिम संघसंस्थाहरुको प्रदर्शन तीब्र बनेको प्रजिअ बास्तोलाले बताए। उनले सम्भावित दुर्घटना हुन नदिन निषेधाज्ञा गरिएको पनि दोहोर्याए।

प्रशासनले अहिले जनकपुरका विभिन्न ठाउँमा प्रहरीको व्यापक परिचालन गरेको छ।

प्रकाशित: २७ कार्तिक २०७८ १०:५३ शनिबार

निषेधाज्ञा