समाज

‘चराको स्वर्ग’ मा पाहुना चराको कमी

तस्बिर साभार: श्री पन्त

यस वर्ष नेपालमा हिउँदे पाहुनाको चराको संख्यामा कमी आएको छ। चराको वासस्थानको रुपमा चिनिएको ताल, पोखरी, आरक्ष, वनलगायतमा कमी आएको हो।

‘चराको स्वर्ग’ भूमि नामले चिनिदै आएको पूर्वको कोशी टप्पु वन्य जन्तु आरक्षमै यसवर्ष विगतका वर्षका तुलनामा पाहुना चराको संख्यामा कमी आएको छ। यहाँ विगतका वर्षमा एक सय ५० हाराहारी प्रजातिका पाहुना चरा आउने गरेका थिए। पाहुना चरा बढी संख्यामा आउनु चराप्रेमिका लागि खुसीकोे विषय हो।

कात्तिक पहिलो सातादेखि आउन थालेका पाहुना चरा पुस दोस्रो सातासम्म आउने गर्छन्। अरु एक महिनामा बढ्ने आशा भए तापनि संख्यात्मक आधारमा विगतमा भन्दा कमी नै छ।

आरक्षमा यो वर्ष एक सय २० प्रजाति हाराहारीका पाहुना चरा आएको अनुमान गरिए पनि संख्यामा भने विगतका वर्षमा भन्दा कमी नै भएको चराविद् डाक्टर हेमसागर बरालले बताए। ‘कोशी टप्पु क्षेत्रमा अनेक बाधा व्यवधान हुनु र कोशी टप्पु बाहिरको क्षेत्रमा पुरानो खाले बाली नलगाएर नयाँ अन्नबाली लगाउनाले गर्दा पनि चराको संख्यामा कमी आएको हो,’ बरालले भने।

२०६५ भदौ २ गते सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएपछि आउने पाहुना चराको संख्यामा कमी आएको थियो। कोशी नदी पूर्वतर्फभन्दा पश्चिमतर्फबाट बढी बग्ने गरेकाले गर्दा पनि कोशी टप्पुको सीमसार क्षेत्रमा पानी सुक्दो छ।

नेपालमा कूल ८ सय ८९ प्रजातिका चरा पाइन्छन्। जसमध्ये लगभग २ सय  प्रजाति सिमसारमा निर्भर छन्। हा“सका मात्र ३४ प्रजाति नेपालमा पाइन्छन्। कोशी टप्पुमा मात्र पाँच सय ३१ प्रजातिका चरा पाइने गरेका छन्।

कोशी टप्पुसँगै पूर्वमा बढी चरा पाइने स्थान सुनसरीकै बर्जु तालमा यो वर्ष विकासको काम भइरहेकाले गर्दा पाहुना चराको संख्यामा कमी आएको छ। बर्जु तालमा अघिल्लो वर्षको मध्य हिउँदमा गरिएको गणना अनुसार चराको संख्या ३७ प्रजातिका ११ हजार २५ थियो। सन् २०२० मा गरिएको गणनाका क्रममा नौ हजार पाँच सय हाराहारी चरा रेकर्ड गरिएको थियो। यस्तै, सन् २०१९ मा चार हजार पाँच सय हाराहारी, सन् २०१८ मा पाँच हजार हाराहारी र सन् २०१७ मा दुई हजार पाँच सय हाराहारी रेकर्ड गरिएको थियो।

यसैगरी, चितवान राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा पनि हिउँदे पाहुना चराको संख्यामा यो वर्ष कमी आएको छ। यस क्षेत्रमा छ सय हाराहारी प्रजातिका चरा पाइने गरेका छन्। यहाँ एक सय २० प्रजाति चरा आउने अनुमान गरिएपनि त्यो अनुसारको अहिलेसम्म आएका छैनन्।

चराको वासस्थानको रुपमा चिनिएको अन्नपूर्ण संरक्षण क्षेत्र र काठमाडाँैं उपत्यकाका वन क्षेत्रमा पनि पाहुना र रैथाने दुवै प्रजातिको चराको संख्यामा कमी रहेको चराविद् बरालले बताए। अन्नपूर्ण संरक्षण क्षेत्रमा छ सय तथा काठमाडौँ उपत्यकाको वन क्षेत्रमा पाँच सयदेखि छ सयसम्म प्रजातिका चरा पाइने गरेका छन्। जसमा अन्नपूर्ण संरक्षण क्षेत्रमा सय र काठमाडौँ उपत्यकाका वन क्षेत्रमा सयभन्दा कमै प्रजातिका दिउँदे पाहुना चरा आउने गरेका छन्।

‘नेपालको विकासको काम र मानवीय चापले गर्दा पनि पाहुना चराको संख्यामा कमी आएको छ,’ डाक्टर बरालले भने, ‘एक त चराले बसाई सराईको दूरी छोटयाउने भएकाले गर्दा पनि कमी आएको छ। अर्कातिर जलवायु परिवर्तनको असर विश्वमै परेकाले पनि चराको संख्या घटदो नै छ।’

प्रकाशित: २७ कार्तिक २०७८ १०:२४ शनिबार

चराको संख्या कोशी टप्पु