समाज

खोलाले बगाउँदा १ को मृत्यु, १ जना बेपत्ता

रंगेलीको बक्राह खोलाले बुधबार २ जनालाई बगाएको छ। रंगेली नगरपालिका–७ बक्राह खोलामा छठ पूजाका लागि घाट सिंर्गानने क्रममा नुहाउन पसेका २ जना युवकलाई खोलाले बगाएको हो। बगाएका मध्ये १ जनाको मृत्यु भएको छ भने अर्का युवक बेपत्ता भएको प्रहरीले जनाएको छ।  

बुधबार दिउँसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली–६ भन्सार टोल सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय बिटुकुमार साह र १८ वर्षीय राजा साह खोलामा नुहाउने क्रममा डुबी बेपत्ता भएका थिए। इलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी टोलीले खोजतलास गर्दा बिटुकुमार फेला पारी उपचारका लागि रंगेली अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषित गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।अर्का राजा साहको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। 

त्यसैगरी, मोरङको उर्लाबारीबाट लागु पदार्थ ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित धिमाल टोलबाट सोही ठाउँका २३ वर्षीय सविन लिम्बूलाई ब्राउन सुगरसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मंगलबार साँझमा इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १ ग्राम ४ सय ३० मिलिग्राम र नगद ५० हजार ४ सय रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २४ कार्तिक २०७८ ०९:५७ बुधबार

खोलाले बगाउँदा १ को मृत्यु १ जना बेपत्ता