समाज

राष्ट्रिय जनगणनाको लागि ४० हजार जनगणक

यही कात्तिक २५गतदेखि देशैभरि सुरु हुने जनगणना २०७८को लागि देशभरमा ४० हजार जना गणक खट्ने भएका छन्।

त्यसका लागि८ हजार ५ सय सुपरिवेक्षक खटाउने तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

सोमबार केन्द्रीय तथ्याकं विभाग र मिडिया एक्सन नेपालले आयोजना गरेको एक कार्यक्रममा विभागले सो जानकारी दिएको हो।१५ दिनभित्र सम्पन्न जनगणना कार्यक्रम मंसिर ९ गतेसम्म जारी रहनेछ।

यसपालिको जनगणनामा जनगणना २०६८ को भन्दा बढी प्रश्नका सूची समावेश भएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए। जनगणनका लागि ३ सय ४९ वटा राष्ट्रिय जनगणना कार्यालय स्थापना गरिएको विभागले जनाएको छ।यो वर्षको जनगणनापछि नेपालको जनसंख्या ३ करोड ४ लाख हुने विभागको अनुमान छ।

विभागका अनुसार ५५ वटा प्रश्न सहितका जनगणनाको लागि २०मिनेट जति समय लाग्नेछ।विभिन्न सामाजिक तथा आर्थिक समूहको तथ्याकं समावेश गर्ने उद्देश्यले पहिलेको जनगणनामा भन्दा यो वर्ष बढी प्रश्न समावेश भएको हो।

जसमा घरपरिवार सूचीकरण, नेपाल सरकारको प्रक्रियामा दर्ता नभएका तर ससाना आय–आर्जन गरिरहेका महिलाहरूको अर्थतन्त्रमा पुगेको योगदानको तथ्यांक संकलन हुने गरी तथ्यांक संकलन गर्न लागेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताए।‘घरको परिवारले मात्र संचालन गरेका,डालो बनाउने,बत्ती काटेर बिक्री गर्ने,दाउरा संकलन गरेर बिक्री गर्ने जस्ता घरेलु कामको समेत लागत हिसाव राख्ने गरी संकलन गर्न लागिएको हो’ निर्देशक लामिछानेले भने।

यसअघि महिलाहरूले संचालन गरेका औपचारिक क्षेत्रका आम्दानीलाई राष्ट्रिय अर्थतन्त्रमा लागत रहने गरी तथ्यांक संकलन गरिएको भए पनि महिलाहरूको सूक्ष्म आम्दानीलाई नेपाल सरकारले पहिलो पटक समेट्न लागेको लामिछानेले बताए।

यो गणनाको क्रममा कृषि,पशुपंक्षी पालनमा योगदान पुर्‍याइरहेका महिलाहरूको तथ्यांक समावेश गर्ने, बैक तथा वित्तीय संस्थामा सहभागी भए–नभएको विषय, सरकारी अनुदानबाट निर्माण भएका घरहरूको तथ्यांक,हरेक व्यक्तिको व्यक्तिगत सूचना,शिक्षा,आर्थिक विवरण,रोजगारीको स्थिति,वैदेशिक रोजगारीमा समावेश हुनेहरूको विवरण लगायत संकलन गर्ने गरी प्रश्नावली निर्माण भएको हो।

त्यसैगरी फरक लिंगीहरूको संंख्या,फरक अपांगता भएकाहरू,हिमोफोलिया भएका, दृष्टिविहीन, बहिरा,अटिजम भएकाहरूको समेत तथ्याकं संकलन गर्ने गरी प्रश्नावली तयार भएको विभागले जनाएको छ।

महिलाको नाममा जग्गाजमिनको स्वामित्व,अनौपचारिक साना घरेलु व्यापार आर्थिक पूर्वाधार, जातजातिको तथ्यांक संकलन गर्ने समेत तयार गरिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए। त्यसैगरी जातजातिको पुख्र्यौली भाषा र दोस्रो भाषा, बालमृत्यु दर,मातृमृत्यु दरको विवरण पनि संकलन गरिने जनाएको छ।

तथ्याकंले विभिन्न जातजाति, समूह तथा आर्थिक,सामाजिक,स्वास्थ्य समूहको समेत विवरण संकलन गरी राष्ट्रिय नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुग्ने भएकाले घरघरमा आउने गणकहरूलाई आवश्यक सूचना दिएर सहयोग गर्न विभागले अपिल गरेको छ।

घरमा पुगेका गणकलाई गाउँमा सजिलै विवरण दिएर सहयोग गरे पनि काठमाडौं,पोखरा जस्ता ठूला शहरमा अप्ठेरो हुने भएकाले हरेक घरपरिवारले सही विवरण दिएर सहयोग गर्न अनुरोध गरेको छ।

जनगणनामा हरेक व्यक्तिले दिने सबै सूचनामा गोपनीयता कायम गर्ने गरी प्रक्रिया मिलाएकाले हरेक परिवारले यथार्थ सूचना दिएमा गोपनीयता कायम राखिने प्रतिबद्धता समेत विभागले जनाएको छ। जनगणना सकिएको तीन महिनाभित्रमा प्रारम्भिक प्रतिवेदन तयार हुनेछ।

प्रकाशित: २४ कार्तिक २०७८ ०४:२९ बुधबार

जनगणना २०७८ सरकारी अनुदान गोपनीयता कायम