समाज

सेनाले गोली हानेर पशु चौपाया मारेकोमा आपत्ती

सेनाको टोलीले कोशी टप्पु वन्यजन्तु आरक्षभित्र पशु चौपाया गोली हानेर मारेको घटनाप्रति सुनसरीको कोशी गाउँपालिकाकाले आपत्ती जनाएको छ।

गाउँपालिका अध्यक्ष अयुव अनसारीले आरक्षभित्र योजनावद्द रुपमा गाई, भैंसी र गोरु मारिएकोमा  आपत्ती प्रकट गरे। एक साताअघि सेनाको टोलीले पशु चौपाया गोली हानेर हत्या गरेको थियो।

अध्यक्ष अनसारीले आरक्षमा किसानले चरिचरणका लागि गाई, भैंसी र गोरु लगेको बेलामा त्यसलाई नियन्त्रणमा लिएर काञ्जी हाउसमा राख्नुपर्नेमा त्यसको विपरीत गोली हानेर हत्या नै गर्नु गैरकानुनी काम भएको बताए। राष्ट्रिय जनावरको रुपमा रहेको गाईलाई संरक्षण गर्नुपर्नेमा उल्टै त्यसलाई गोली हानेर हत्या गर्नु खेदजनक कार्य भएको उनले बताए।

आरक्ष प्रशासनका अनुसार गस्ती गर्न गएको बेला सेनाको टोलीलाई आक्रमण गरेपछि तीनवटा भैंसी मारिएको जनाएको छ। वार्डेन अशोक रामलले आरक्षको निषेधित क्षेत्रमा भैंसीले गस्ती टोलीलाई आक्रमण गरेपछि गोली चलाउँदा तीनवटा भैंसी मारिएको र एउटा घाइते भएको बताए।

कोशी गाउँपालिकाले भने एक(एकवटा गाई र गोरु तथा पाँचवटा भैंसी मारिएको पत्ता लागेको दावी गरेको छ। कोशी टप्पु वन्यजन्तु आरक्षको सुरक्षाका लागि सेनाको दुर्गा दलको टीम खटिएको छ।

प्रकाशित: २३ कार्तिक २०७८ १२:५९ मंगलबार

सेना कोशी टप्पु वन्यजन्तु आरक्ष