समाज

महिलालाई उद्यमशिलता तालिम

तालिम कार्यक्रम

रुकुम पश्चिममा दीगो जिविकोपार्जनका लागि महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता विकाससम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। महिला पुनर्स्थापना केन्द्र(ओरेक)को आयोजनामा जिल्लाका त्रिबेणी गाउँपालिका, बाफिकोट गाउँपालिका र मुसिकोट नगरपालिकाका २६ जना महिलाहरुलाई उद्यमशिलता विकाससम्बन्धी तालिम संचालन गरिएको हो।

बिउपुजि पाएमा व्यवसाय गर्न ईच्छुक द्वन्द्व प्रभावित र हिंसा प्रभावित महिलाहरुलाई तालिम दिइएको ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले बताइन्। उनका अनुसार सहभागीलाई उद्यमी कसरी बन्ने, उद्यमी बन्नको लागि स्रोतसाधन के के छन् र हामीले के व्यवसाय गर्न सक्छौ भन्ने बारेमा सहजीकरण गरिएको थियो।

व्यवसायको लागि सम्भावित क्षेत्रहरुको पहिचान गरी समुदायमा कुन व्यवसाय उपयुक्त छन् भन्ने कुरामा समेत छलफल गरीएको थियो। तालिममा २ जना महिला उद्यमीले आफूले गरेको उद्यमका बारेमा अनुभव आदानप्रदान गरेका थिए। तालिम पश्चात ओरेक नेपालले उनीहरुको योजना अनुरुपको बिउपुजिको सहयोग गर्ने बताएकोे छ।

उद्यमशिलता विकाससम्बन्धी दुई दिने तालिमको ओरेक नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपाने सहजीकरण गरेका थिए। तालिम समापनको औपचारिक कार्यक्रममा बोल्दै मुसीकोट नगरपालिकाका प्रमुख देबिलाल गौतमले महिलाहरुले सहयोग पाएमा उद्यम गरेर व्यवसायिक बन्न सक्ने बताएका थिए। उनले सहभागीलाई व्यवसाय गर्न स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: २३ कार्तिक २०७८ १२:४३ मंगलबार

महिलालाई उद्यमशिलता तालिम दीगो जिविकोपार्जन