समाज

मदिराले मात्तिएका मेजरको वितण्डा

कैलालीको चिसापानीस्थित इलाका प्रहरी कार्यालयले गएराति मदिरा सेवन गरेर होहल्ला गर्दै हिँडेका नेपाली सेनाका एक मेजरलाई नियन्त्रणमा लिएको छ।  

प्रहरीले लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीलाई हतियारसहित नियन्त्रणमा लिएको हो। स्रोतका अनुसार उनी मदिराको नशामा लठ्ठिएर स्थानीयलाई गालीगलौज गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

उनी रातिको समयमा स्थानीय संगम होटलमा छिरेका थिए। उनले होटल सञ्चालक हर्क रावललाई गालीगलौज गर्नुका साथै हातपातको प्रयास समेत गरेका थिए। होटल सञ्चालक रावलले मेजर शाही मदिराले लठ्ठिएर आफ्नो होटल भित्र छिरेको बताए।  

‘उनी मदिराले लठ्ठ थिए। होटलमा छिर्ने बित्तिकै मसँग अभद्र व्यवहार गरे। हामी चारजना थियौं’ उनले भने, ‘साथीहरुले बाहिर पठाएँ। त्यसपछि उनी हतियारसहित सडकमा होहल्ला गर्दै हिँडेछन्।’

स्रोतका अनुसार होटलबाट निस्केका मेजर शाही शिक्षालय पुगेर एकजना ड्युटीमा रहेका सैनिकलाई लिएर फेरि करिव ४ किलोमिटर टाढा रहेको चिसापानी बजार पुगेछन्। उनी बजार पुग्ने बित्तिकै सर्वसाधारणलाई गालीगलौज गर्दै हिँडेछन्। स्थानीयका अनुसार सो क्रममा उनले केही व्यक्तिलाई हातपात समेत गरेका थिए।

उनी राइफल समातेर बजारमा डुल्न थालेपछि केहीबेर चिसापानीको माहौल त्रसित बनेको स्थानीयले बताए। उनलाई प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएका थिए।

स्थानीयले प्रहरीले मेजर शाहीलाई सुरक्षा दिएको भन्दै इलाका प्रहरी कार्यालय चिसापानीमा ढुंगामुढा गरेका छन्। उनीहरुले मेजर शाहीलाई कारबाहीको माग गरेका छन्।

प्रहरीको नियन्त्रणमा रहेका मेजर शाहीले मदिराको नशाले मात्तिएर गल्ती गरेको भन्दै माफी मागेका छन्। होटल सञ्चालक रावलले आफ्ना तर्फबाट माफी गरेको बताए। स्थानीयले ढुंगामुढाबाट क्षति पुगेको प्रहरी कार्यालयको मर्मत गरिदिने बताएका छन्।  

प्रहरीले मेजर शाहीलाई पत्रसहित शिक्षालयमा बुझाएको छ। स्रोतका अनुसार घटनाका बारेमा छानविन गर्न सुर्खेतस्थित पृतनालयले एक टोली चिसापानी पठाएको छ।

प्रकाशित: २२ कार्तिक २०७८ ०८:०४ सोमबार

मेजरको वितण्डा