समाज

इस्लाम धर्मावलम्बीले पनि लगाए भाइटीका

विशेषतः दसैंतिहार जस्ता पर्व हिन्दू धर्मावलम्बीहरुले मनाउँछन्। तर धार्मिक तथा सांस्कृतिक सद्भावको सहर मानिने नेपालगन्जमा इस्लाम धर्मावलम्बीका अगुवाहरुले पनि हिन्दू समुदायजस्तै गरी तिहार मनाएका छन्। दिदी, बहिनीको हातबाट सप्तरंगी टीका र माला लगाएर इस्लाम धर्मावलम्बीका अगुवाहरुले तिहार मनाएका छन्।

शनिबार परेको तिहारमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मोहम्मद सफिक बेहना, बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष प्रवेज अली सिद्धिकीलगायत इस्लाम धर्मावलम्बीहरुले तिहारमा भाइटीका लगाए। ‘एकअर्काका धार्मिक तथा सांस्कृतिक चाडपर्वलाई सम्मान र माया व्यक्त गर्न हामीलाई तिहारमा टीका लगायौं,’ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बहेनाले भने, ‘यस धार्मिक तथा सांस्कृतिक सद्भाव तथा एकता कायम गरेको छ।’

उनले ६/७ वर्षदेखि तिहार मनाउँदै आएका छन्। नेपालगन्ज उपमहानगरपालिका¬–१४, भवनियापुरकी लक्ष्मी चौधरीको हातबाट भाइटीका लगाएको उनी बताउँछन्।  

करिब १०÷१२ वर्षदेखि भाइटीका लगाउँदै आएका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीले राजविराजमा विवाह भएकी पुनम सिंहको हातबाट टीका लगाए। हिन्दू र मुस्लिम समुदायबीच सद्भाव कायम होस् भन्दै आफूले हिन्दू समुदायले बनाउने तिहार मनाएको उनी बताउँछन्। ‘एकअर्का समुदायको चाडपर्व अर्काे समुदायले मनाउँदा झनै उत्साह र उमंग हुन्छ,’ उनी भन्छन्, ‘एकअर्काेप्रतिको सम्मान र धार्मिक तथा सांस्कृतिक सहिष्णुता कायम रहन्छ।’

मुस्लिम समुदायका ठूला पर्वहरु पनि हिन्दू समुदायले मनाउने गर्छन्। पहाडी, मधेसी, हिन्दू, मुस्लिमलगायतका धार्मिक विविधता भएको नेपालगन्जलाई सामाजिक, धार्मिक तथा सांस्कृतिक सद्भावको सहर पनि भनिन्छ।

१५ वर्षदेखि टीका लगाउँदै आएका बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष प्रवेज अली सिद्धिकीले मीना तुलाधर र दिदी माया थापासँग टीका लगाए। एक अर्को धर्मप्रति सम्मान गर्ने सोचको विकास गर्न टीका लगाएको उनी बताउँछन्। ‘हामीले दसैंतिहार जस्ता पर्व मनाउँदा हिन्दू र मुस्लिम समुदायबीचको सम्बन्ध अझ समुधुर हुन्छ,’ उनले भने, ‘हिन्दूहरुले पनि इद, मोहम्मद डेलगायतका पर्वमा उत्साहका साथ मनाउँदा हामीहरु खुसी हुन्छौं।’ यो संस्कार पछिल्लो पुस्ताले पनि अनुसरण गर्नुपर्ने उनी बताउँछन्।

तिहारमा हिन्दू समुदायजस्तै टीका माला लगाउँदा थप उत्साह र उमंग छाउने इस्लाम समुदायको भनाइ छ। केही इस्लाम समुदायले हिन्दू समुदायकी दिदी बहिनीसँग टीका लगाएका थिए भने केहीले आफ्न दिदी बहिनीसँग टीका तथा हजारीका माला लगाए।

नेपालगन्जमा हिन्दू धर्मावलम्बीहरुले इस्लाम धर्मावलम्बीको पर्वमा सहभागी हुन्छन्। खुसीयाली बाँड्छन्। शुभकामना आदान प्रदान गरी सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सघाउँछन्।

प्रकाशित: २१ कार्तिक २०७८ ०५:१६ आइतबार

नेपालगन्ज दसैंतिहार