समाज

मधेशमा ‘सोहरैया’ सुरु

सोहरैयाका लागि माटोको सामग्री वीरगन्ज बजारमा किनबेच हुँदै। तस्बिरः रितेश/नागरिक

मधेशमा निकै तयारीका साथ मनाइँने सोहरैया अर्थात दिपावली पर्व मंगलबार सुरु भएको छ। पाँच दिनसम्म चल्ने यो पर्वको पहिलो दिन अर्थात धनतेरसका दिन मानिसहरुले पर्व लक्षित किनमेल गरेका छन्। खासमा यस दिनमा नयाँ बस्तु वा सम्पति जोड्ने गरिन्छ। वीरगन्ज बजारमा मंगलबार धनतेरसको अवसरमा किनमेल गर्नेको भिडभाड देखियो। सोहरैयासंगै सुरु भएको पर्वको चटारो छठपछि मात्र सकिने छ।

‘दशहरा’ अर्थात दशैंपछि पाँच दिन कोजाग्रत पूर्णिमासम्म मेलाको माहोल हुन्छ। ‘दशहरा’ लगत्तै सुरु हुन्छ ‘साेहरैया’को तयारी। भनिन्छ नै ‘सरहे सोहरैया र छवे छठ’ अर्थात पूर्णिमादेखि गिन्ती गरेर १६ औं दिनमा ‘सोहरैया’को यमपञ्चक सुरु हुन्छ। र, सोहरैया सकिएको छवौं दिन छठ पर्छ। दशहरापछि र सोहरैया अगाडि घर आँगनलाई चिटिक्क बनाउन, घरका ज्यावल र हातहतियारलाई सफाई गर्न र पशुधनलाई सिगार्नेसम्मको काम भ्याउनुपर्ने हुन्छ। खासमा फुस र खपडाको घर मर्मतमा समय लाग्छ।

माटोको भित्ता बनाउन ‘पियरी माटी’ (पहेलो माटो)को प्रवन्ध गर्नुपर्ने हुन्छ। घर अगाडि खाडल खनी माटोलाई रातभरी पानीमा हालेर छोडिन्छ। भोलिपल्ट त्यसलाई मलिलो पारी भुस हालेर तयार परिन्छ। मर्मत गरिएको वा नयाँ हालिएको खरको ‘टाटी’ (भित्ता)उपर त्यो माटोको परत चढाइन्छ। आवश्यक्ता अनुसार भित्तामा दियो राख्ने साना ‘दियरख’ र अरु आकृति बनाउने चलन पनि अझ कहिँकहिँ बाँकी छ। गोबरपछि माटोको लेप हालेर भित्ता सुकिसकेपछि सुनौलो रंगमा टल्किने गर्दछ।

माटोको ‘खपडा’ को छाना भएका घरका छाना पनि मर्मत गरिन्छ। पक्की भित्ताहरु रंगरोगन हुन्छन्। सबैले आफ्नो घर आँगन र वरपरको घासपात र फोहोर सफा गरेपछि गाउँ नै चिटिक्क भइएसकेको हुन्छ। धनतेरसभन्दा एक दिन अगाडि घरको काठे ढोका, बाकसहरु, लाठी, भाला जस्ता परम्परागत हतियारहरु बयल गाडामा हालेर नदी पोखरीमा लगी धोइ पखाली सफा गर्ने चलन छ। पुरुषहरुले राति ‘भाजन’ भनिने लोक भाकाका गीत गाउँछन्।

धनतेरसका दिन भने नयाँ झाडु, चाँदी, सुन, र बिभिन्न धातुका बर्तन किनेर घरमा ल्याउने गरिन्छ। धनतेरसदेखि पूर्णिमासम्म बजारमा किनबेच बढ्छ। माटोको दियरी र अन्य भाँडो, मिठाई, पूजा सामग्री र मैनबतिको बिक्री बजारमा बढ्छ। ‘सोफा, कार्पेट, तन्ना, पर्दाको बिक्री बढेको पाइन्छ। ‘लक्ष्मी पूजाको दिन कम से कम एक जोर नयाँ लुगा लगाउनु पर्छ’ भन्ने मान्यताले गर्दा लत्ता–कपडाको बिक्री पनि बढ्छ।

धनतेसरको भोलिपल्ट गोबरले दैलो लिपेर दिपावलीको स्वागत गरिन्छ। स्वच्छतामा लक्ष्मी अर्थात धन कि देवीको बाँस हुन्छ भन्ने मान्यता भएको हुनाले लक्ष्मी पूजा अगाडि बृहत्तर सरसफाईको हुने गरेको छ। त्यो दिन साँझ यम भगवानका लागि घर अगाडि एउटा दियो बाल्ने चलन छ। यस दिनलाई ‘जमदियरी’ भनिन्छ। नभन्दै आइपुग्छ दिवाली, दिपावली वा साेहरैया भनेर मनाइने मुल पर्व। पहिलेदेखि सफा परिएका चौकठ, ढोका, काठका बाकस, गाडा, हलो र घरेलु हतियार तथा ज्यावलहरु उपर यो दिन चामलको पिठोको झोल र गेरुवा माटोको चिन्ह हातको पञ्जाले बसालिन्छ।

साँझ केराको बोट वा पात हालेर र रंगी बिरंगी फूल लगाएर दैलोलाई सजाइन्छ। कपडामा हातले सुई धागोको मद्दतले शुभदिपावली लेखेर महिलाहरुले बनाएको ‘कुरुस’ले बुनाई गरिएको झालर हाल्ने चलन भने अब हराएको पाइन्छ। घर अगाडि रंग र फूलहरु हालेर रंगोली बनाउने चलन बढेको छ। माटो दियो हाल्ने चलन बिस्तारै घट्दै जाने क्रम भने रोकिएको छ। मैनबत्ति र विद्युतीय बत्तिको साटो माटाको दियो बालेर मौलिक रुपमा दिपावली मनाउने चलन फेरि फर्किन थालेको छ। साँझ घर घरमा बालिन्छ दिपमाला। माता लक्ष्मीको पूजा गरिन्छ। यस दिन फलमुल, मिठाई र अन्य साकाहारी परिकार खाने खुवाउने चलन छ। व्यापारिक प्रतिष्ठानले आफ्ना कामदारलाई कपडा र मिठाई दिन्छन्।

लक्ष्मी पूजा गरेर वर्षा भरि आर्थिक आभाव नहोस भनि प्रार्थना गरिन्छ। जीवनका अज्ञान रूपी अन्धकारलाई हटाएर प्रकाशको दिब्य आलोकमा प्रवेश गर्न सकौं भन्ने सन्देश यस पर्वमा निहित हुन्छ। अर्को दिन गोबर्धन पूजा हुन्छ। जसमा घर अगाडि गोबरले ‘गोधन’ बनाइन्छ। यो भनेको वास्तवमा गोबरले एउटा गाउँको नक्सा वा आकार बनाइएको हुन्छ। जसमा मनवसंगै गाई र गोरुलाई देखाइएको हुन्छ। यि पशु र मानवको अस्तित्व संगसंगै जोडिएको सन्देश दिने महान प्रतिकको रुपमा यसको निरन्तरता पाइन्छ।

घरका महिलाले एउटा पुस्ताले अर्कोबाट सिकेर यसलाई बनाउँदै आएका छन्। यो दिन गाई गोरु र भैंसी समेतलाई सिंगार्ने चलन छ। अर्को दिन आआफ्नो गाइ गोरु किसानहरु एउटा चउरमा लिएर पुग्ने र त्यहाँ ल्याइएको एउटा सुँगुरलाई ति पशुहरुले सिँगले हिर्काउन दिने ‘डाढमार’ चलन छ।

यो साँस्कृतिकभन्दा ऐतिहासिक पक्षसंग जोडिएको मानिन्छ। एउटा मत अनुसार भारतीय उपमहाद्विपमा जब मुस्लिम साशकहरुको साशन सुरु भयो त्यस बेला यहाँका गृहस्त किसानका चौपाया सरकारी अधिकारी र सैनिकहरुले बलजफ्ती लगेर मारेर खाने गर्थे। सुँगुरबाट भने उनीहरु टाँढा नै बस्थे। सुँगुरसंगै बथानमा चर्न जाने पसु पनि उनीहरु छुँदैन थिए। इस्लाममा सुँगुरलाई ‘नापाक’ (अपबित्र) मान्ने गरिन्छ। किसानहरुले आफ्नो पशुलाई वर्षभरीमा एक पटक सुँगुरलाई छुन लगाउने चलन आयो। जुन गाउँमा यो चलन हुन्थ्यो त्यहाँका पसु उनीहरुले छुँदैन थिए। यसरी ब्रज क्षेत्रबाट सुरु भएको ‘डाढमार’ टाढासम्म फैलिँदै यता आइपुगेको मत रहेको छ भने गाउँघरमा यो मनोरञ्जनात्मक खेल हो। 

यो चलन भने छिटफुट ठाउँमा मात्र शेष छ। गोबर्धन पूजाको भोलिपल्ट ‘भैया दुज’ (भाइटिका) मनाइन्छ। अघिल्लो दिनको ‘गोधन’मा प्रयोग भएको गोबर एकै ठाउँमा थुपारेर बाँसको टुक्राले सामूहिक रुपमा त्यसलाई घोंचीघोची महिलाहरु कुट्छन्। त्यसलाई ‘गोधन कुट्ने’ भन्छन्। यो भनेको टोलभरीको गोबर्धन एकैमा मिसाएर सामूहिक पूजा गर्ने चलन छ। अन्तमा त्यसमाथी सबैले आफ्नो दियो बाल्छन्। यस दियाेमा सेकेर काजल बनाइन्छ। यस काजलमा गोबर्धन देवको आशिर्वाद समाहित रहेको मान्यता छ। गीत गाउदै दजुभाइलाई श्राप दिन्छन् दिदीबहिनीहरु। त्यसपछि रेङ्गनीको काँडाले जिब्रोमा आफैले घोंचेपछि उक्त श्राप आशिर्वादमा रुपमान्तरण हुने लोकमान्यता छ। घर फर्केर दिदीबहिनीले दाजुभाइलाई टिका लगाएर मुखमा केही दाना केराउ हाल्ने गर्छन। मिठाइ खुवाउँदै पिठ्युमा धाप दिएर आशिर्वाद दिन्छन्। दाजुभाइले भने दिदीबहिनीलाई दक्षिणा दिनुपर्छ। यसरी धनतेरसमा सुरु भएर पाँचौं दिन सोहरैया सकिन्छ।

असोज आउँदा आउँदै ‘भदैया’ (बर्खे) धान घरमा भित्रिसकेको हुन्छ। अगहनी (मंसिरमा हुने) मुख्य बाली धानको रोपाईदेखि ‘सोहनी’ (गोडलेम)सम्म सकिसकेको हुन्छ। सवादेखि डेढ महिनापछि मात्र फेरि कटाईको चटारो आउनेवाला हुन्छ। यसबीचको समय जीवनमा उत्सव र उमंगको लागि, रमाइलो र खुसीयाली साटासाटका लागि सद्उपयोग गर्ने परम्परागत सामाजिक ब्यवस्था छ, मधेश तराईमा। जसमा दशैंको घटस्थापनादेखि छठको उद्यापनसम्म भ्याउने गरिन्छ। ‘दशहरा, अर्थात दशैं, ‘सोहरैया’ अर्थात दिपावली तिहार र अन्तमा मधेश तराईको मुख्य पर्व ‘छठ’ भित्र पर्ने बिभिन्न बिशेष तिथि मितिमा गरिने परम्परागत साँस्कृतिक उपक्रमहरुको सवा महिनाको ‘पर्वमाला’ हो यो।

प्रकाशित: १६ कार्तिक २०७८ १५:४१ मंगलबार

मधेशमा ‘सोहरैया’