समाज

वीरगन्जमा रेडियोको आयोजनमा ‘म्युजिक अवार्ड’ हुँदै

वीरगन्जबाट प्रसारित रेडियो सान्भीले आउँदो कार्तिक २२ गते प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने भएको छ। गीत, संगीतको क्षेत्रमा भविष्य खोजिरेहका र व्यावसायिक कलाकारको रुपमा स्थापित हुन संघर्ष गरिरहेका स्थानीय कलाकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले म्युजिक अवार्ड कार्यक्रम गर्न लागेको रेडियोका समाचार प्रमुख  दिपक गौतमले बताए।

‘रेडियोको एउटा महत्वपूर्ण पाटो भनेको गीत संगीत हो, यसले स्रोतासँग हामीलाई जोड्छ, त्यस कारणले संगीत र गायनमा लागेका कलाकारहरुलाई एउटा मञ्च प्रदान गर्न हामीले प्रयास गरेका हौं,’ रेडियोको तर्फबाट कार्यक्रमका संयोजक समेत रहेका गौतमले भने, ‘यो अवार्डलाई आगामी वर्षमा पनि निरन्तरता दिने उदेश्यले यसलाई पहिलो संस्करणको रुपमा अगाडि बढाइएको छ, हामीले यसलाई प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ भनेका छौं ।’

विभिन्न १० विधामा उत्कृष्ट कलाकारहरुलाई पुरस्कृत गरिने बताइएको छ। भोजपुरीको लोकभाकामा आधुनिक गीतहरु सिर्जना गर्ने वीरगन्जका कलाकार अजमत अलिले यस्ता कार्यक्रम आयोजना गरिनुले सबै कलाप्रेमीहरुलाई उत्साहित बनाएको प्रतिक्रिया जनाउँदै यसको निरन्तरता महत्वपूर्ण हुने जनाए। भोजपुरी गायनमा नाम चलेका कलाकार सुनिल पण्डितले अवार्ड कार्यक्रमले कलाकारहरुमा उर्जा थप्ने धारणा राखे।

स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने देशभरी चिनाउने अभिप्रायलेम्युजिक अवार्ड आयोजना गर्ने निर्णय लिएको रेडियोका संचालक सुमित रौनियारले बताए।

प्रकाशित: १० कार्तिक २०७८ १०:२६ बुधबार

म्युजिक अवार्ड