समाज

सुनसरीमा भएका दुर्घटनामा परि दुई जनाको मृत्यु

सुनसरीका अलग अलग स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सोमबार साँझ इनरुवा वडा नं. ९ को भित्री कच्ची सडक खण्डमा सिटी अनियन्त्रित भइ पल्टदा एक जनाको मृत्यु भएको छ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ ह ७३३३ नं. को सिटी सवारी पल्टिँदा गढी गाउँपालिका वडा नं. ६ का ७० बर्षीया रुपदेवी उरावको मृत्यु भएको हो। उरावको विराट नरसिंह होममा उपचारका क्रममा राति नै मृत्यु भएको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

सिटी सवारीमा सवार गढी वडा नं. ६ कै ३५ वर्षे अञ्जुदेवी साह घाइते भएकी छन्। सिटी चालक गढी ६ वडा नं. ६ का ४० वर्षे बिन्देश्वर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सडकमा खाल्डाखुल्डी भएकाले गर्दा सिटी सफारी पल्टिएको प्रहरीले जनायो।

यसैगरी, रामधुनी वडा नं. ६ बक्लौरीको भित्री सडक खण्डमा प्रदेश नं १–०२–००३ त ०६३० नं को ट्याक्टरले सामान अनलोड गरी व्याक गर्ने क्रममा किचेर एक जनाको मृत्यु भएको छ। ट्याक्टरको पछाडिको डालाले लागेर सोही ठाउँकी ७० वर्षे नेहरी सदालाई मृत्यु भएको हो। सोमबार दिउँसो ४बजे ट्याक्टरले ठक्कर दिँदा सिकिस्त भएकी सदाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा राति मृत्यु भएको हो।

प्रकाशित: ९ कार्तिक २०७८ ०४:२० मंगलबार

सुनसरीमा भएका दुर्घटना दुई जनाको मृत्यु