समाज

मोबाइल पसलमा चोरी

विराटनगरको मुख्य चोक (महेन्द्र चोक)को एउटा मोबाइल पसलमा शुक्रबार राति चोरी भएको छ। बन्द रहेको सटरको ताला फोडेर पसल चोरी गरिएको छ।  

मधुकुमार राईले विराटनगर महानगरपालिका–९ महेन्द्र चोकमा सञ्चालन गरेको सनराइज इन्टरप्राइजेजमा चोरी भएको हो। चोरीमा संलग्नले पसलको पछाडि पट्टिको किराना पसलको गोदामको सटरमा लगाएको ताला फुटाएरभित्र पसेर मोबाइल पसलमा चोरी गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए।  

उनका अनुसार मोबाइल पसलमा दोस्रो पटक चोरीको घटना भएको छ। यसअघि २०७६ असारमा त्यही तरिकाले सटर फुटाएर चोरी भएको थियो। पसलबाट चोरी भएको मोबाइल किन्ने दुई जना त्यतिबेला पक्राउ परेका थिए। त्यस बेला हराएको ५० वटाभन्दा बढी मोबाइलमध्ये ३ वटा मात्रै प्रहरीले फेला पारेको थियो।  

यसअघि सटर फुटाएकै ठाउँबाट पुनः सटरको ताला तोडेर पसलमा चोरी गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चोरीमा पहिलेकै गिरोह संलग्न हुनसक्छ।  

पसल सञ्चालक राईका अनुसार १३ वटा नयाँ र १५ वटा पुरानो गरी २८ वटा मोबाइल चोरी भएको देखिए छ। ‘पसल अझ राम्रोसँग हेर्न बाँकी नै छ,’ राईले भने, ‘४ लाखभन्दा बढीको मोबाइल चोरी भएको हुनुपर्छ।’ शुक्रबारसाँझ पसल बन्द गरेर घर गएको र शनिबार बिहान ११ बजेतिर पसल खोल्न आउँदा चोरी भएको अवस्थामा पाएको थियो। यसअघि पनि यसरी नै पसल चोरी भएको थियो, राईले बताए।

चोरीमा संलग्न भएकाले मोबाइल सेट लगेर खोलहरु एउटा जेब्रा झोला राखेर घटनास्थल नजिक फालेको अवस्था भेटिएको छ। उक्त झोला आफ्नो नभएको राईले बताए। घटनामा संलग्नको पहिचान हुन नसकेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ६ कार्तिक २०७८ १०:१९ शनिबार

चोरी मोबाइल पसल