समाज

पत्रकार महासंघ प्रदेश उपाध्यक्ष गुप्ताको निधन

नेपाल पत्रकार महासंघको झन्डा ओढाएर सम्मान दिँदै नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता। तस्बिरः नागरिक

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रमानन्द प्रसाद गुप्ताको शनिबार बिहान निधन भएको छ। ५८ वर्षीय गुप्ताको उच्च रक्तचापका कारण मष्तिस्कघात भएर उपचारको क्रममा निधन भएको हो। उनको गत बुधबार मष्तिस्कघात भएपछि न्युरो अस्पताल बिराटनगरमा उपचार हुँदै थियो।

२०४६ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार गुप्ता नेपाल पत्रकार महासंघ सिरहा शाखाको संस्थापक सदस्य समेत थिए। उनी नेपाल पत्रकार महासंघ सिरहा शाखाको एक कार्यकाल सभापति भएका थिए। उनको पत्नी, दुई छोरा र एक छोरी छन्। गुप्ताको शनिबार बिहान लहान स्थित खुट्टी खोलामा दाहसंस्कार गरिएको छ। उनको पार्थिव शरीरमा नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता र सप्तरी सभापति श्रवण देवले संयुक्त रुपमा पत्रकार महासंघको झन्डा ओढाएर सम्मान दिएका थिए। प्रेस चौतारी नेपालीले समेत झन्डा ओढाएर सम्मान व्यक्त गरेको थियो।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पत्रकार गुप्ताको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन्।

प्रकाशित: ६ कार्तिक २०७८ ०७:१५ शनिबार