समाज

पहिरोले घरसँगै पुरिएका दुई बालबालिकाको मृत्यु

२ बच्चाको ज्यान जाने गरि घरमाथि खसेको पहिरो । तस्बिर: ईलाका प्रहरी कार्यालय धरान

अविरल वर्षासँगै खसेको पहिरोले धरान उपमहानगरपालिका वडा नं १३ नागेश्वर मार्गस्थित एक घर पुरिँदा २ जना बच्चाको ज्यान गएको छ।

मंगलबार दिउँसो करिब २ बजे स्थानीय निसान राईको घरमाथि पहिरो खसेको थियो। पहिरो खस्दा घरभित्रै खेलिरहेका ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहान पनि पुरिएका थिए। दुवैलाई करिब डेढ घण्टापछि मात्र प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले उद्धार गरेको थियो। निरन्तर वर्षा भइरहेको कारण उद्धार कार्य पनि प्रभावित भएको थियो।  

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार दुवै बच्चा मृत अवस्थामा निकालिएको थियो। ‘दुवै बच्चा निकालेर वीपी प्रतिष्ठान पठाएका छौ, दुवैको मृत्यु भइसकेको छ,’ डिएसपी कुँवरले भने,‘अरु थप उद्धार कार्य भइरहेको छ।’ पहिरो खस्दा घरमा मृतक बच्चाका आमा बुबा पनि थिए। दुवै जना भने सशकुल रहेका छन्। दुवंै बच्चा भने घरभित्रै खेलिरहेको र पहिरो खस्दा पुरिएका थिए। डाँडा काटेर राई परिवारले एक तले टिनको घर निर्माण गरेका थिए। भित्ता पट्टीको डाँडा पहिरो गएर घर पुरिएको थियो।  

प्रहरीका अनुसार थप अन्य २ घर पनि जोखिममा छन्। ती घरका परिवारलाई पनि सुरक्षित स्थानमा रहेको छिमेकी घरमा सारिने प्रहरीले जनाएको छ। ‘थप २ घर जोखिममा छ, उहाँहलाई बस्न दिएका छैनौ, र छिमेकी घरमा बस्न भनेका छौ,’ वडा नं १३ स्थित अस्थायी प्रहरी चौकीका एक जवानले मोवाइल सम्पर्कमा भने।

घटनास्थलमा अहिले नेपाल रेडक्रस सोसाइटी सुनसरीको टोली पनि पुगेको छ। विस्थापित परिवारलाई आवश्यक पर्ने त्रिपाललगायत राहत सामग्री पठाइएको रेडक्रस सुनसरीका सभापति उमेश थापाले जानकारी दिए।

प्रकाशित: २ कार्तिक २०७८ ११:५४ मंगलबार

अविरल वर्षा